१० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026

घरदैलोमा उत्साहित शर्मा, कांग्रेस नेता कार्यकर्ताको साथ



भलवाड ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तु क्षेत्र नम्बर १ का युवा स्वतन्त्र उम्मेदवार आशिष शर्माले वाणगंगा नगरपालिका–९ स्थित कपिलधाम परिसरमा रहेको कपिलेश्वर शिवालय मन्दिरमा पूजा–अर्चना गरी स्थानीय बुबा–आमाको आशीर्वाद लिँदै घरदैलो कार्यक्रम प्रारम्भ गरेका छन् । वाणगंगा ९ मा धेरै कांग्रेस नेता, कार्यकर्ता तथा युवाहरू शर्माकाे निर्वाचनमा हाेमिएपछी उम्मेदवार शर्मा उत्साहित भएका छन् । पार्टीले गत साता शर्मा सहित १९ जनालाइ कार्वाहीकाे सिफारिस गरेपछि वाणगंगामा उनकाे पक्षमा नेता तथा कार्यकर्ता खुल्न थालेका हुन् ।

युवा विद्यार्थीहरूकाे साथ पाएका घरदैलो अभियानका क्रममा शर्माले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरेका थिए। उनले स्वतन्त्र उम्मेदवारको रूपमा ‘जिप’ चुनाव चिह्नमा मतदान गरी आफूलाई विजयी गराउन अनुरोध गरेका छन्।

“हजुरहरूको माया, सद्भाव र विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने, “जिल्लाको समग्र विकास, सुशासन र युवालाई अवसर सिर्जना गर्ने दिशामा प्रतिबद्ध भएर काम गर्नेछु ।

शर्माले कपिलवस्तुको धार्मिक, पुरातात्त्विक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने बताएका छन्। कपिलधाम, ऐतिहासिक तथा धार्मिक आस्थाका केन्द्रहरूको व्यवस्थित विकासमार्फत जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य रहेको उनको भनाइ रहेकोे थियो ।

युवाको नेतृत्वमा पारदर्शी र उत्तरदायी राजनीति आवश्यक रहेको उल्लेख गर्दै शर्माले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाएको जानकारी दिए। उनले स्थानीयस्तरमै रोजगारी सिर्जना, सीप विकास कार्यक्रम सञ्चालन तथा कृषकलाई आधुनिक प्रविधिसँग जोड्ने योजना अघि सारेका छन्।

घरदैलो कार्यक्रममा स्थानीय युवा, शुभेच्छुक तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो। मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले जनताका सुझाव, गुनासा र अपेक्षाहरू सुन्ने क्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा उत्रिएका शर्माले पार्टीगत सीमाभन्दा माथि उठेर समग्र जिल्लाको हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८२ आइतबार ००:००  ६ : ०८ बजे