दिपा महत, तौलिहवा ।
प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै बालबालिकाको हकअधिकार संरक्षण र हितका लागि सरोकारवालाले सामूहिक प्रतिबद्धता जनाएका छन्। पिस नेपालको आयोजनामा आइतबार सम्पन्न नागरिक दल र नागरिक समाजबीचको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
सहभागीहरूले बालबालिकालाई आफ्ना अधिकार तथा आवश्यकताबाहेक कुनै पनि राजनीतिक गतिविधि—धर्ना, जुलुस, आमसभा जस्ता कार्यक्रममा सहभागी नगराउने र त्यसको प्रभावकारी अनुगमन गर्ने बताएका छन्। साथै विद्यालयमा राजनीतिक दलका कार्यक्रम सञ्चालन नगर्ने तथा बालबालिकालाई राजनीतिक आवद्धताका आधारमा पक्षविपक्षमा उभ्याउने कार्य नगर्ने बचनबद्धता जनाएका छन् ।
यसैगरी, राजनीतिक दल र नेतृत्वले व्यक्त गर्ने विचार तथा स्वस्थ आलोचनामा बालबालिकामा प्रत्यक्ष असर पुग्ने अभिव्यक्ति नराख्ने, घरपरिवार, समाज र विद्यालयमा हुने शारीरिक तथा भावनात्मक हिंसा अन्त्य गर्न पहल गर्ने र बालअधिकार संरक्षणका लागि स्थानीय तह, प्रदेश सरकार तथा नेपाल सरकारसमक्ष आवश्यक नीतिनियम तर्जुमा र बजेट विनियोजनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भविस्वर घिमिरेले स्वतन्त्र र मर्यादित निर्वाचन सम्पन्न गर्न निर्वाचन आचारसंहिताबारे जानकारी गराउँदै कपिलवस्तुमा हालसम्म आचारसंहितासम्बन्धी लिखित उजुरी नआएको जानकारी दिनुभयो। उहाले आचारसंहिताको पूर्ण पालना गर्न सम्पूर्ण पक्षलाई आग्रह गर्नुभयो। जिल्लामा ९८ जना प्रतिनिधि सभा उम्मेदवारमध्ये हालसम्म २०–२५ जनाले मात्र बैंक खाता खोलेको र ४ गतेसम्म बुझाउनुपर्ने घोषणापत्र सबैले पूर्ण रूपमा पेश नगरेको जानकारी दिनुभयो।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले आचारसंहिता आफैंलाई नियममा बाँध्ने दस्तावेज भएकाले सबै उम्मेदवार, राजनीतिक दल, कर्मचारी तथा सञ्चारमाध्यमले यसको पालना गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख रमेश कुर्मी, जिल्ला समन्वय अधिकारी, गैससका प्रदेश तथा जिल्ला अध्यक्ष, सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन प्रोजेक्ट म्यानेजर योगेन्द्र बुढाले गर्नुभएको थियो ।








प्रतिक्रिया