५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

सवारी दुर्घटना बढेपछि सडकमै पूजा



सिद्धार्थनगर, चैत ५ गते ।  रुपन्देहीको देवदह नगरपालिका क्षेत्रको राजमार्गमा सवारी दुर्घटना बढेको भन्दै स्थानीयले सडकमै पूजा गर्दै मृत आत्माको चिर शान्तिको कामना गरेका छन् । सडक दुर्घटनाबाट ज्यान गुमाएकाको आत्मशान्तिको कामना गर्दै देवदह–९, घोडाहाका स्थानीयले सडकमा पूजा गरेका हुन् । 

स्थानीयवासीले स्वस्फूर्त रूपमा सहयोग सङ्कलन गरेर मृतकको आत्मशान्तिको कामनासहित स्वस्तिशान्ति, नारायणबलि, लक्ष्यवर्ती प्रज्वलन तथा भागवत पूजा गरेको स्थानीय नारायण पाण्डेयले जानकारी दिनुभयो । १४ जना पण्डित जुटाएर गरिएको पूजामा देवदह–९, घोडाहामा विभिन्न समयमा दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारका सदस्यसमेत सहभागी थिए । सो क्षेत्रमा केही वर्षयता १८ जनाले ज्यान गुमाएको प्रहरीको भनाइ छ । पछिल्लो चार महिनायता मात्र देवदह–९, घोडाहा काँटाचोकमा भएको सवारी दुर्घटनामा दुई जनाको घटना स्थलमै ज्यान गएको थियो ।

‘हामीले घोडाहामा विभिन्न समयमा भएका दुर्घटनामा परी मृत्युवरण गरेकाको स्मृतिमा सडकमै सामूहिक पूजन कार्यक्रम गरेका हाैं,” पाण्डेयले भन्नुभयो, “पटक पटक दुर्घटना हुने र दुर्घटनामा ज्यान गुमाउनेको नारायणबलि नगरिएकै कारण थप दुर्घटना हुने गरेको भनी पण्डितले समेत सुझाएपछि हामीले यो कार्य गरेका हौँ ।”

यसैबिच स्थानीयले सडकमा पूजा गरिरहँदा प्रहरी चौकी देवदहले त्यहाँ उपस्थित सर्वसाधारणलाई ट्राफिक सचेतना शिक्षा प्रदान गरेको छ । प्रहरी सहायक निरीक्षक मिथिलेसकुमार यादवले उपस्थित सर्वसाधारणलाई ट्राफिक नियमको पालना नगर्दा अधिकांश दुर्घटना हुने गरेको भन्दै ट्राफिक नियमबारे सामान्य जानकारी सबैमा हुनुपर्ने बताउनुभयो  । 

प्रकाशित मिति : ५ चैत्र २०८२ बिहिबार ००:००  १० : १४ बजे