कपिलवस्तु ।
वाणगंगा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूका लागि मनोसामाजिक सुस्वास्थ्य तथा असल अभिभावक कार्यक्रमसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। शिक्षकहरूलाई मनोसामाजिक सुस्वास्थ्यको महत्व, यसको व्यवहारिक पक्ष र अभिभावकसँगको सहकार्यबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
नगरपालिकाको समन्वयमा सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा सञ्चालित ‘विलिफ’ परियोजनाअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको हो। परियोजनाले वडा नं. ७, ८ र ९ मा सघन रूपमा गतिविधि सञ्चालन गर्दै आएको छ। कार्यक्रममा नगरपालिका अन्तर्गतका माध्यमिक तथा आधारभूत तहका ३२ जना शिक्षकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तिलोचन घिमिरेले पछिल्लो समय मनोसामाजिक सुस्वास्थ्यको आवश्यकता तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्नुभयो। उहाँले विद्यालय र शिक्षकहरूले यस विषयमा पर्याप्त ज्ञान राख्नुपर्ने तथा शिक्षकहरूको सक्रिय भूमिकाले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने बताउनुभयो।
कार्यक्रम निर्देशक प्रकाश घिमिरेले मनोसामाजिक सुस्वास्थ्य तथा असल अभिभावक सम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो भने स्वागत तथा कार्यक्रमकाे उद्देश्यबारे जानकारी व्यवस्थापक आर.टी. खानले गराउनुभएको थियो। अभिमुखीकरणका क्रममा विद्यालय तथा समुदायमा मनोसामाजिक सुस्वास्थ्यको महत्व र शिक्षकको भूमिकाबारे खुला छलफलसमेत गरिएको थियो।कार्यक्रममा सहभागी शिक्षकहरूले यस किसिमको अभिमुखीकरणले विद्यालयमा विद्यार्थीको व्यवहार र सिकाइ सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रमको सहजीकरण विलिफ परियोजनाकी सहजकर्ता अस्मिता आचार्य पोखरेलले गर्नुभएको थियो।







प्रतिक्रिया