१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

वाणगंगामा खुर्पा प्रहार गरी हत्या गर्ने व्यक्ति पक्राउ



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा १ बैरियामा एक ३२ वर्षीय पुरुषको खुर्पा प्रहार गरी हत्या भएको छ। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ४५ वर्षीय उदय अधिकारीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार हिजो दिउँसो अन्दाजी ११ः४५ देखि १२ः२० बजेको समयमा सोही ठाउँकै ३२ वर्षीय मानसिक अवस्था ठीक नभएका सुमन चौधरीमाथि धारिलो हतियार खुर्पा प्रहार भएको थियो। घटनालगत्तै घाइते अवस्थामा फेला परेका चौधरीलाई उपचारका लागि पिपरा अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको थियो । चिकित्सकले साँझ पौने ८ बजे उनलाई मृत घोषणा गरेका थिए।

प्रहरी अनुसन्धान र पक्राउ
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा SOCO सहितको टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्य र प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंह सहितको टोलीले घटनास्थलको सुक्ष्म अवलोकन गरी अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा शंकास्पद देखिएका ४५ वर्षीय उदय अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। सोधपुछका क्रममा अधिकारीले आफूले नै चौधरीको हत्या गरेको स्वीकार गरेका छन्। उनले लुकाई राखेको अवस्थामा हत्यामा प्रयोग गरिएको खुर्पा समेत प्रहरीले बरामद गरेको छ।

पक्राउ परेका अधिकारीमाथि कर्तव्य ज्यान मुद्दामा कारबाही प्रक्रिया अघि बढाउन कपिलवस्तु जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभएको छ।

प्रकाशित मिति : १३ चैत्र २०८२ शुक्रबार ००:००  २ : १४ बजे