मायादेवी अनलाइन, बाणगंगा ।
नदीजन्य पदार्थको निकासी खुलेको दिनदेखिनै ठेकेदार बाबुराम अधिकारीको हालीमुहाली सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजना निर्माणको नाममा नदीजन्य पदार्थको उत्खननमा मनमौजी चलाउँदै आएका ठेकेदार अधिकारीले चालू आवमा पनि आफ्नो धन्दा चलाउन थालेका हुन् ।
गत आवमा बाणगंगा नगरपालिकाबाट मधुवनधाम नाकाबाट ६५ हजार घनमिटर नदीजन्य पदार्थ निकाल्ने गरी बिना प्रतिस्पर्धा अमानतबाट ठेक्का हत्याएका ठेकेदार अधिकारीले यो बर्ष फरक ढंगले नाका कब्जा गर्ने रणनीति बनाएका छन् ।
गत बर्ष अमानतमा पाएको नदीजन्य पदार्थलाई उनले महेन्द्र राजमार्गको बुटवल-चन्द्रौटा सडक निर्माणमा प्रयोग गर्नु पर्ने थियो । तर उनले लुम्बिनी क्रेशर उद्योगनै किनेर अमानतमा पाएको नदीजन्य पदार्थ अन्यत्र बेचबिखन गरिरहेका छन् ।
यो बिषयमा उनी विवादमा तानिएको महिनौं भएपनि नियामक निकायले उनी माथि कारबाही गर्न सकेको छैन् । अमानतमा पाएको नदीजन्य पदार्थ सम्बन्धित आयोजनामा प्रयोग नगरी अन्यत्र प्रयोग गर्दा राज्यको करोडौं राजश्व गुमिरहेको छ ।
यो बिषय सतहमा आउँदा आउँदै अहिले ठेकेदार अधिकारीले गत बर्षको नदीजन्य पदार्थ सकिएको देखाउने र अहिले सरकारी मूल्यमा खरिद गरी बैध देखाउने ध्याउन्नमा उनी लागि परेका छन् । किनकि देशको राजनीति फरक किसिमको हुनु उनको लागि टाउको दुखाइ बनेको छ । उनले गर्दै आएको सेटिङ्गले अब काम नगर्ने पक्का छ ।
उनले गत बर्ष अमानतमा आफूले पाएको नाकामा आफ्ना विश्वाशिला ठेकेदारलाई ठेक्का लगाउन हालेर आफूले नदीजन्य पदार्थ खरिद गर्ने योजनामा उनी थिए । तर बैंक ग्यारेन्टी नक्कली बनाएपछि उनी निकट ठेकेदार उल्टै कारबाहीमा परे ।
नाकाको ठेक्का बाणगंगा विल्डर्सले पाएको छ । मंगलबार मात्र मायादेवी अनलाइनले ठेक्का बाणगंगा विल्डर्सले पाएको भएपनि ६० प्रतिशत शेयर उनै अधिकारीले किनेको समाचार प्रकाशन गरेको थियो । उक्त समाचार प्रकाशन भएको अर्को दिन बुधबार उनै अधिकारीले निर्माधिन बुटवल-गोरुसिङ्गे सडकको काममा खटिएका टीप्पर नाकामा पठाएका थिए ।
एक्साभेटरको प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन भएपछि नाका खुलेको दिनदेखि यो नाका विवादमा तानिएको छ । ठेकेदार अधिकारीले प्रयोग गर्ने टीप्परको कारण ट्याक्टर व्यवसायी मर्कामा परेका छन् भने ठेक्का पाएको बाणगंगा विल्डर्सको गाडी नै नाकामा देखिन छाडेका छन् ।
अघोषित रुपमा यो नाका उनको कब्जामा गएको हो । तोकिएको स्थान भन्दा फरक ठाउँमा खोला उत्खनन गर्ने, परिणाम भन्दा बढी निकाल्ने, घाटगद्दीमा नापजाँच नगरेको सामग्री रातारात नगरको सहमति विपरीत निकालेर क्रेशर उद्योगसम्म ल्याएर बैध गराउने बाटोमा उनी देखिन्छन् ।







प्रतिक्रिया