१९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026

कपिलवस्तुका ३५ मध्ये ३२ परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण सुरु



कपिलवस्तु, चैत — कपिलवस्तु जिल्लामा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत पहिलो दिन अंग्रेजी विषयको परीक्षामा ८ हजार ५ सय ३३ जना परीक्षार्थी सहभागी भएका छन्। ग्रेडवृद्धितर्फ १ हजार ५ सय १४ जना सहित कुल ९ हजार ९ सय १० जना परीक्षार्थी थिए ।

केन्द्राध्यक्षहरूका अनुसार विगतका वर्षहरूको तुलनामा यस वर्षको एसईई परीक्षा मर्यादित, व्यवस्थित र सुरक्षाका दृष्टिले प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।

सरकारले सम्बन्धित परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गरेसँगै कपिलवस्तुका अधिकांश केन्द्रमा परीक्षण कार्य सुरु गरिएको छ। जिल्लाका कुल ३५ परीक्षा केन्द्रमध्ये ३२ केन्द्रमा परीक्षण भइरहेको छ भने यशोधरा गाउँपालिकाको १ र कृष्णनगर नगरपालिकाका २ केन्द्रमा भने हालसम्म परीक्षण सुरु हुन सकेको छैन। केन्द्राध्यक्ष र अन्य आवश्यक तयारी नपुगेका कारण ती केन्द्रमा परीक्षण हुन नसकेको शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका निमित्त प्रमुख चोपलाल बेल्वासेले जानकारी दिएका छन्। ती उत्तरपुस्तिकाहरू प्रहरीकाे राेहवरमा सुरक्षित गरिएकाे छ ।

साँझसम्म पनि परीक्षण गर्दा नसकिएपछि नजिकको प्रहरी कार्यालयमा बुझाएर भोली पुन परीक्षा केन्द्रका परीक्षण गरीने भएको छ ।

समन्वय इकाइकी प्राविधिक सहायक सिता घिमिरेका अनुसार हालसम्मकै मध्ये यस वर्षकाे परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भइरहेको प्रतिक्रिया निरिक्षकलाइ उद्धृत गर्दै मायादेवी अनलाइनलाई जानकारी दिइन् ।

यसैबीच, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले एसईईको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन्। सोहीअनुसार शिक्षा मन्त्रालयले ‘माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन, व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ लागू गरेको छ।

उक्त निर्देशिकाको उद्देश्य परीक्षालाई थप व्यवस्थित बनाउँदै उत्तरपुस्तिका परीक्षणलाई छिटो, छरितो र प्रभावकारी बनाउनुका साथै समयमै नतिजा प्रकाशन गर्नु रहेको छ। निर्देशिका अनुसार आजैदेखि सम्बन्धित परीक्षा केन्द्रहरूमा उत्तरपुस्तिका परीक्षण कार्य औपचारिक रूपमा सुरु गरिएको हो।

प्रकाशित मिति : १९ चैत्र २०८२ बिहिबार ००:००  ७ : २३ बजे