मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा खोला अन्तर्गत मधुवानधाम नाका खुलेको केही घण्टा नहुँदै ठूलै हुल बन्द गराउन पुग्यो । त्यो हुलको नेतृत्व नेपाल किसान ट्याक्टर समितिका अध्यक्ष झविन्द्र खनालले गरेका थिए ।
बाणगंगा नगरपालिकाले चालू आवको पहिलो नदीजन्य पदार्थ निकासी ठेक्का बुधबार खुलाएको थियो । बाणगंगा विल्डर्सले पाएको यो नाकाको ठेक्का खुलेको केही घण्टा नहुँदै ठूलै हुलले नाका बन्द गरायो । तथानाम गालीगलौज गर्दै नाकामा ठूलो भ्रष्ट्रचार भएको समेत उल्लेख गर्दै भिडियो सामग्री सामाजिक सञ्जालमा पोष्ट भए ।
एक्साभेटरको प्रयोग गरी खोलाइएको निकासी ठेक्कामा जनप्रतिनिधिलाई केन्द्रमा राख्दै विभिन्न लाञ्छना लागेका सामग्री सामाजिक सञ्जालमा पोस्ट भएका देखिन्छन् । जबकी बाणगंगा नगरपालिकाले विभिन्न प्रक्रिया पुर्याएरै विधिवत ढंगले खोलाको ठेक्का लगाएको थियो ।
सामाजिक अराजकता बढिरहेको बेला मधुवानधाम नाका खुल्ने दिन ठूलै आर्थिक घोटला गरेर जनप्रतिनिधिले काम गरे जस्तो गरी प्रचारप्रसार गरिएको थियो । अझ रास्वपा समर्थित केही युवा नाका बन्द गराउन संलग्न थिए । यस्तो परिवेश बुधबार भएपनि विहीबार यो नाका पूर्णतया बन्द रह्यो । शुक्रबार समेत मध्यान्नसम्म नखुलेको नाका अपराह्न पश्चात खुलेको छ ।
नाका खुलेसंगै नेपाल किसान ट्याक्टर समितिका अध्यक्ष खनालसहितका व्यवसायीले कुन सहमति गरी नाका खोल्न दिए यो प्रश्न उठेको छ । बुधबारको नाका बन्द गराउन उद्दत विभिन्न तत्वहरु रहेपनि केन्द्रमा ट्याक्टर व्यवसायी थिए । यी व्यवसायी कुन स्वार्थले नाका बन्द गराउन पुगे, शुक्रबार पुनः ठेकेदारसँग कसरी मिलेर ट्याक्टर खोलामा पठाए ? यसको प्रश्न सर्वत्र उठेको छ ।
यो विषयमा बुझ्दा अध्यक्ष खनालले आफूहरुले नाका बन्द गर्न नखोजेको प्रतिक्रिया दिए ।
हरेक बर्ष बाणगंगा खोलाका विभिन्नखण्डमा निकासी ठेक्का लाग्ने गरेको छ । यो बर्षपनि नगरपालिकाले ठेक्का खुलाएको हो ।







प्रतिक्रिया