बाबुराम रायमाझी, भलवाड ।
“रुख रोपौं, वन जोगाऔं” भन्ने मूल नाराका साथ वाणगंगा नगरपालिका–९ बर्दहवामा रहेको कोटिहवा सामुदायिक वन उपभोक्ता समूहको पाँचौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी तीन वर्षका लागि पदम बहादुर बेल्बासेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा लालमाया बुढा मगर, सचिवमा छबी चुदाली, सह–सचिवमा विशाल बेल्बासे र कोषाध्यक्षमा लक्ष्मी दर्जी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा हिरा बस्नेत, लिला खड्का, गीता राना, चेतमान घर्ती मगर, तनमाय रोका घर्ती र मीना खनाल रहेका छन्।
यसैगरी दिनेश केसीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि गठन गरिएको छ। सोही अवसरमा समूहको १४औँ वार्षिक साधारणसभा भव्य र सभ्य रूपमा सम्पन्न गरिएको थियो।
कार्यक्रममा समूहका सचिव पदम बहादुर बेल्बासेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष लक्ष्मी दर्जीले आर्थिक वर्ष २०८१/०८२ को ५७ लाख ३ हजार रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गरिन्। अध्यक्ष ध्रुव बेल्बासेले सामुदायिक वनको भावी रणनीति र योजनाबारे प्रकाश पारेका थिए। लेखा समितिका संयोजक दिनेश केसीले लेखा प्रतिवेदन प्रस्तुत गर्दै आवश्यक सुझाव दिएका थिए।
अधिवेशनका अवसरमा सामुदायिक वनले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू पनि सम्पन्न गरेको छ। वन उपभोक्तामध्ये ७० वर्ष पूरा गरेका ८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने सामुदायिक विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। साथै हालै सामुदायिक वन क्षेत्रमा आगलागी नियन्त्रणमा सक्रिय भूमिका खेलेका ११ जना उपभोक्तालाई नगदसहित सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा नगर कार्यपालिका सदस्य केशरा गुरुङले सामुदायिक वन सञ्चालन गर्दा नीति, नियम र योजनाअनुसार पारदर्शी ढंगले काम गर्नुपर्नेमा जोड दिइन्। उनले वनको संरक्षण र संवर्द्धनसँगै उत्पादनमुखी क्रियाकलापलाई पनि अगाडि बढाउनुपर्ने धारणा राखिन्।
कार्यक्रममा अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेल, भलवाड स्वास्थ्य चौकी प्रमुख जित विकास रायमाझी, नवप्रभात सहकारीका अध्यक्ष बसन्त खनाल, सल्लाहकार फर्सबहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम समूहका अध्यक्ष ध्रुव बेल्बासेको अध्यक्षता एबम कोषाध्यक्ष लक्ष्मी दर्जीको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन सचिव पदम बहादुर बेल्बासेले गरेका थिए।
उक्त सामुदायिक वन १७२.३७ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने यसबाट ३७३ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुँदै आएका छन्।







प्रतिक्रिया