२४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026

१९ करोड लागतको खानेपानी आयोजना तीव्र गतिमा, २ हजारभन्दा बढी घरधुरी लाभान्वित हुने



बाबुराम रायमाझी , कपिलवस्तु

संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रुपन्देहीको प्राविधिक टोलीले वाणगंगा नगरपालिका–७ स्थित मित्रपथमा निर्माणाधीन वनगाई, मोतिपुर र चप्परगाउँ खानेपानी आयोजनाको स्थलगत अनुगमन गरेको छ। करिब १९ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त आयोजनाको काम हाल तीव्र गतिमा अघि बढिरहेकाे छ।

अनुगमनमा कार्यालयका इन्जिनियर रोशन घिमिरे नेतृत्वको प्राविधिक टोली तथा वाणगंगा नगरपालिका–७ का वडा अध्यक्ष विष्णु गिरिको सहभागिता रहेको थियो। टोलीले निर्माण कार्यको गुणस्तर, प्रगति र समयसीमाबारे विस्तृत जानकारी लिँदै आवश्यक सुझाव समेत दिएको थियो।

उक्त आयोजनाअन्तर्गत ४ लाख ५० हजार लिटर क्षमताको पानी संकलन तथा वितरण प्रणाली निर्माण कार्य भइरहेको छ। आयोजना पूरा भएपछि बनगाइ , मोतिपुर र चप्परगाउँका बासिन्दालाई सुरक्षित तथा नियमित खानेपानी आपूर्ति गर्ने लक्ष्य राखेको छ ।

खानेपानी संस्थाका अध्यक्ष कृष्ण खनालका अनुसार आयोजनाबाट करिब २ हजार १ सय घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। साथै, खानेपानी संस्थाको दीगो सञ्चालनका लागि परिसरभित्र अत्याधुनिक सुविधासहित ४ कोठे पक्की भवन समेत निर्माण गरिने योजना रहेको उनले जानकारी दिए।

स्थानीयवासीका लागि स्वच्छ खानेपानीको दीर्घकालीन समस्या समाधान गर्ने उद्देश्यले सुरु गरिएको यस आयोजना सम्पन्न भएपछि यस क्षेत्रको जीवनस्तरमा सकारात्मक सुधार आउने अपेक्षा गरिएको छ। साथै, यसले स्वास्थ्य जोखिम न्यूनीकरण तथा सरसफाइमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २२ चैत्र २०८२ आइतबार ००:००  ९ : ०२ बजे