डिलाराम भुसाल, कपिलवस्तु ।
कपिलवस्तु जिल्लामा सञ्चालनमा रहेका विकास निर्माणसम्बन्धी संघीय तथा प्रादेशिक कार्यालयहरूको आर्थिक वर्ष २०८२/०८३ को हालसम्मको प्रगति समीक्षा गर्दै चौथो त्रैमासिकमा शतप्रतिशत बजेट खर्च गर्ने लक्ष्यसहित काम तीव्र बनाउन निर्देशन दिइएको छ।
जिल्ला समन्वय समितिको आयोजनामा बुधबार तौलिहवामा सम्पन्न समीक्षा कार्यक्रममा अधिकांश आयोजनाको भौतिक प्रगति सन्तोषजनक देखिए पनि पूँजीगत खर्चमा भने ढिलाइ भएको निष्कर्ष निकालिएको हो।
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले विकास निर्माणका काममा ढिलाइ हुँदा जनताले सेवा पाउन ढिला हुने उल्लेख गर्दै बाँकी अवधिमा परिणाममुखी काम गर्न सबै कार्यालयलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “विनियोजित बजेट समयमै खर्च हुन नसक्दा विकासको गति सुस्त हुन्छ। चौथो त्रैमासिकलाई परिणाम दिने समयका रूपमा लिएर योजना कार्यान्वयनमा तीव्रता ल्याउनुपर्छ। अन्तर–निकाय समन्वय बढाएर समस्या समाधान गर्दै लक्ष्य हासिल गर्न आवश्यक छ।”
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पनि बाँकी अवधिमा कार्यसम्पादन तीव्र बनाउन स्पष्ट निर्देशन दिँदै चौथो त्रैमासिकमा शतप्रतिशत बजेट खर्च गर्ने लक्ष्यसहित काम अघि बढाउन आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो,
“जग्गा अधिग्रहण, ठेकेदारको ढिलासुस्ती, भुक्तानी प्रक्रियामा समस्या लगायत विषय तुरुन्त समाधान गरेर योजना कार्यान्वयनमा गति ल्याउनुपर्छ। विकास निर्माणका काममा ढिलाइ हुन नदिन सबै कार्यालयले समन्वयात्मक ढंगले काम गर्न आवश्यक छ।”
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले समीक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन तथ्यमा आधारित प्रस्तुति र पारदर्शिता आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो,
“योजना कार्यान्वयनको अवस्था नियमित रूपमा सार्वजनिक गर्नुपर्छ। बजेट खर्च र भौतिक प्रगति दुवैमा जिम्मेवार ढंगले काम भए मात्र विकासले गति लिन्छ। सञ्चार माध्यममार्फत जनतालाई सही सूचना प्रवाह गर्न कार्यालयहरू खुला र उत्तरदायी बन्नुपर्छ।”
समीक्षा कार्यक्रममा सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा, विद्युत् तथा कृषि, वन र घरेलु क्षेत्रका आयोजनाहरूको प्रगति प्रस्तुत गरिएको थियो। तेस्रो त्रैमासिकसम्म अधिकांश आयोजनाको भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक देखिए पनि प्रादेशिक कार्यालयहरूको पूँजीगत खर्च अपेक्षाकृत कमजोर रहेको जानकारी दिइएको थियो।
सहभागी कार्यालय प्रमुखहरूले जग्गा अधिग्रहणको जटिलता, ठेकेदारको लापरबाही, समयमा भुक्तानी नहुनु तथा अन्तर–निकाय समन्वयको अभावलाई प्रमुख समस्याका रूपमा औँल्याएका थिए। उनीहरूले बाँकी अवधिमा बजेट खर्च र भौतिक प्रगति दुवैमा तीव्रता ल्याउन समन्वय बढाउने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा कपिलवस्तु अस्पताल, सडक डिभिजन कार्यालय शिवपुर, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, हुलाकी राजमार्ग आयोजना, सडक पूर्वाधार कार्यालय, स्वास्थ्य कार्यालय, सिँचाइ विकास डिभिजन, डिभिजन वन कार्यालय लगायतले आफ्नो प्रगति, समस्या र सुझाव प्रस्तुत गरेका थिए।
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समन्वय समितिका उपप्रमुख रमेश कुर्मी, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी जर्नादन अधिकारीले गर्नुभएको थियो।







प्रतिक्रिया