कपिलवस्तु ।
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बाँकी रहेको एक वर्षे कार्यकालमा जनताले अनुभूति गर्ने गरी परिणाममुखी काम गर्नुपर्ने बताउनुभएको छ ।
नगरपालिकाको सभाहलमा आयोजित १९औँ नगर सभालाई सम्बोधन गर्दै उनले जनभावनाको कदर गर्दै एक वर्षभित्र देखिने खालका काम गरी जनताको विश्वास पुनः जित्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।
मेयर पौडेलले नगरपालिकाले सरकारी विद्यालयमा कक्षा १० सम्म निःशुल्क शिक्षा उपलब्ध गराउँदै आएको र स्वास्थ्य बीमाको शुल्कमा आधा रकम अनुदान दिएको जानकारी दिनुभयो। उहाले संघीय सरकारका कारण केही समय स्वास्थ्य बीमा अनुदान रोकिएको भए पनि अब नगरपालिकाले स्वास्थ्य बीमा ऐन बनाएर पुनः अनुदान दिने तयारी गरेको बताउनुभयो।
उहाका अनुसार निःशुल्क रगत सेवा, छाडा चौपाया व्यवस्थापन, कृषि विकास, महिला लक्षित कार्यक्रम, नमुना सडक निर्माण तथा भिक्षु चोकमा चौमुखे गेट निर्माण जस्ता कामहरू सम्पन्न भइसकेका छन्।
मेयर पौडेलले आफूहरू अमेरिका भ्रमणका क्रममा अघि बढाइएको ‘ग्रेटर लुम्बिनी’ अवधारणाअन्तर्गत सरकारले अनुदान तथा ऋण ल्याएकाले यस क्षेत्रका बुद्धस्थलहरूको पर्यटकीय विकासमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, ६० वर्षभन्दा माथिका नागरिकका लागि महिनामा दुई पटक स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश गैरेले जनताको इच्छा र आवश्यकताअनुसार काम गर्नुपर्नेमा जोड दिँदै जनताका समस्या सामूहिक रूपमा समाधान गर्नुपर्ने बताउनुभयो।
सभाले पूरक विनियोजन विधेयक २०८२, संशोधित संगठन संरचना तथा व्यवस्थापन, सेवा करारको म्याद थप, विषयगत समितिका प्रतिवेदन स्वीकृति, कार्यपालिका बैठकका निर्णय अनुमोदन तथा तीन पाङ्ग्रे सवारी साधन सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी ऐन र स्वास्थ्य बीमा ऐन पारित गरेको प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले जानकारी दिनुभयो।







प्रतिक्रिया