कपिलवस्तु ।
कृष्णनगर नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। बिहीबार वडा नम्बर ६ को वडा कार्यालय भिल्मीमा आयोजित कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सडक–नाला निर्माणसम्बन्धी विभिन्न समस्या उठाएका थिए।
वडा नम्बर ६ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक वीरबहादुर मौर्यले समाजमा अझै जनचेतनाको अभाव रहेको उल्लेख गर्दै सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यालयमा खानेपानी, डेस्क–बेन्च, बालविकासका लागि खेलौना तथा शौचालय व्यवस्थापन गर्न माग गर्नुभयो।
त्यस्तै, स्थानीय सुदीप त्रिपाठीले सुशासन, पारदर्शिता र अनुशासनमा जोड दिन आग्रह गर्दै मापदण्डविपरीत बनेका संरचनामा कानुनअनुसार कारबाही हुनुपर्ने धारणा राख्नुभयो। उहाँले सबैका लागि समान रूपमा नियम लागू हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिँदै नगर प्रमुख रजत प्रताप शाहले पालिकाले सबैको समस्या सुन्ने र प्राथमिकताका आधारमा समाधान गर्दै जाने बताउनुभयो। उहाँले नगरपालिकाको प्रयास मात्रले समृद्धि सम्भव नभएको भन्दै नागरिक पनि सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।
उहाँले घर, गाउँ, आँगन तथा विद्यालय सफा राख्ने, शौचालय प्रयोग गर्ने जस्ता आधारभूत कुरामा अझै पनि जनस्तरमा कमी देखिएको उल्लेख गर्दै खुला दिसामुक्त समाज कायम राख्न सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो। विद्यालयलाई ‘मन्दिर’ सरह मान्दै यसको संरक्षण सबैको दायित्व भएको उहाँले बताउनुभयो।
विद्यालयमा देखिएका खानेपानी, शौचालय तथा बाउन्ड्रीलगायत समस्याको यथाशीघ्र समाधान गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष जाबेद आलम खाँले आफ्नो कार्यकालमा ५ हजार मिटर नाली निर्माण गरिएको जानकारी दिँदै त्यसको संरक्षण र सरसफाइमा नागरिकको पनि जिम्मेवारी रहेको बताउनुभयो।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले नगरको विकासका लागि स्थानीय नागरिक सचेत र सक्रिय हुनुपर्नेमा जोड दिँदै सार्वजनिक सुनुवाइजस्ता कार्यक्रमले पारदर्शिता र जवाफदेहिता बढाउने बताउनुभयो।
कार्यक्रममा नगर उपप्रमुख आरतीदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, जनप्रतिनिधि, स्थानीय अगुवा, शिक्षक तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने पत्रकार महासंघका सचिव सनिउल्ला धोबीको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दिपा महतले स्वागत मन्तव्य राख्नुभएको थियो। साथै, नागरिक तथा बहिर्गमन प्रतिवेदन कोषाध्यक्ष मोहन बेल्वासेले प्रस्तुत गर्नुभएको थियो।







प्रतिक्रिया