कपिलवस्तु ।
वाणगंगा नगरपालिकाको मुख्य व्यापारिक केन्द्र चारनम्बर बजार क्षेत्रमा दैनिक निस्कने फोहोरमैला व्यवस्थापन नहुँदा बजार दुर्गन्धित बन्दै गएको छ। होटल, फेन्सी, किराना, फलफूल तथा ठेला व्यवसायबाट निस्कने फोहोर लामो समयदेखि व्यवस्थापन नहुँदा सडक तथा सार्वजनिक स्थानमै थुप्रिन थालेको हो।
बजार क्षेत्रमा हप्तामा दुई पटक आउने फोहोर उठाउने ट्याक्टर करिब दुई सातादेखि नआएपछि समस्या झनै गम्भीर बनेको छ। दुई शुक्रबारदेखि विभिन्न स्थानमा थुप्रिएको फोहोर अझै उठ्न नसकेको फलफूल व्यवसायी लम्सालले बताए। “बाटोमै फोहोर थुपारेर राखेका छौं, अब राख्ने ठाउँ पनि छैन,” उनले भने।
यसअघि वाणगंगा नदी किनार र वनक्षेत्रमा फोहोर संकलन हुँदै आएको थियो। तर बुंची क्षेत्रका स्थानीयले विरोध जनाएपछि उक्त स्थानमा फोहोर व्यवस्थापनमा अवरोध आएको हो। त्यसपछि बजार क्षेत्रमा फोहोर थुप्रिन थालेको हो।
फोहोर समस्या सम्बन्धी समाचार सार्वजनिक भएपछि नगरपालिकाले सर्वपक्षीय छलफल गरेको थियो। छलफलले तत्कालका लागि सम्बन्धित वडाहरूले आ–आफ्नो क्षेत्रमा उपयुक्त स्थानमा फोहोर संकलन गर्ने निर्णय गरे पनि तीन दिन बित्दा समेत कार्यान्वयन हुन सकेको छैन। साथै, वडा–वडामा फोहोर संकलन गर्ने निर्णयले दीर्घकालीन समस्या समाधान नहुने सरोकारवालाहरूले बताएका छन्।
बन तथा वातावरण शाखाका प्रमुख नवीन पाण्डेका अनुसार, “तत्कालका लागि भोलिदेखि पुरानै स्थानमा फोहोर संकलन गरिनेछ।” उनले दीर्घकालीन समाधानका लागि भने छुट्टै व्यवस्थापन आवश्यक रहेको बताए।
दीर्घकालीन रूपमा जग्गा भाडामा लिएर फोहोर संकलन तथा प्रशोधन गर्ने योजना पनि बनेको भए पनि त्यसले अझै मूर्त रूप लिन सकेको छैन।
वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष लक्ष्मीबहादुर खत्रीका अनुसार, वडास्तरमा छलफल भए पनि समस्या समाधानको ठोस टुंगो लाग्न सकेको छैन। “जिम्मेवारी वडालाई दिइयो, तर समस्या जहाँको त्यही छ,” उनले भने।
स्थानीय व्यवसायीहरूका अनुसार फोहोरका कारण दुर्गन्ध फैलिनुका साथै आवतजावतमा समेत समस्या भएको छ। सुख्खा मौसम र हावाहुरीका कारण समस्या अझ बढेको उनीहरूको भनाइ छ। कतिपयले राति नदी र जंगल क्षेत्रमा फोहोर फाल्ने गरेको समेत बताइएको छ।
नगरपालिकाका राजस्व शाखा प्रमुख मदनप्रसाद घिमिरेका अनुसार, बुचीका स्थानीयले डम्पिङ साइटमा फोहोर राख्न नदिने भन्दै विरोध जनाएपछि संकलन प्रभावित भएको हो। “विगतदेखि प्रयोग हुँदै आएको स्थानमा अवरोध भएपछि दैनिक फोहोर व्यवस्थापनमा समस्या आएको छ,” उनले बताए।
फोहोर संकलनको जिम्मा पाएको वातावरणीय सेवा ९फेरी० का प्रतिनिधि कमल तिवारीले अवरोधका कारण दैनिक सयौं गुनासा आउने गरेको बताए। “डम्पिङ साइटको टुंगो लाग्नेबित्तिकै फोहोर उठाउन सुरु गर्छौं,” उनले भने। उनका अनुसार, भोलिदेखि फोहोर उठाउने सूचना प्राप्त भएको छ।
हाल फोहोर उठाउने ट्याक्टरहरू नगरभित्रै रोकिएका छन्। सर्वपक्षीय बैठकको निर्णय कार्यान्वयनमा नआउँदा समस्या झनै चर्किएको छ, र बजारवासी तत्काल समाधानको प्रतीक्षामा छन्।







प्रतिक्रिया