बाणगंगा, कपिलवस्तु ।
वाणगंगा नगरपालिकाको प्रशासनिक भवनको प्राङ्गणमा हिजो फोहोर फालिएको घटनालाई नगरपालिकाले गम्भीरताका साथ लिँदै संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। बजार क्षेत्रको फोहोर संकलन गरी डम्पिङ साइटतर्फ जाँदै गरेका ट्रयाक्टरलाई नियन्त्रणमा लिएर नगरपालिकाको कार्यालय परिसरमा फोहोर खसाल्ने कार्यलाई नगरपालिकाले अराजकताको पराकाष्ठ र निन्दनीय कदम ठहर गरेको हो। बजार क्षेत्रमा दुर्गन्ध र सार्वजनिक स्थलमा फाेहाेर थुप्रिदै गएपछि तत्काल केहि दिनका लागि मात्र भनेर पुरानै क्षेत्रमा संकलन गर्ने सहमती भएकाे थियाे ।
शनिबार बिदाको दिन बसेको आकस्मिक सर्वपक्षीय बैठकले उक्त घटनाको घोर भर्त्सना गर्दै दोषीमाथि कडा कानुनी उपचार खोज्ने निर्णय गरेको छ। भेलाले सामूहिक प्रतिवाद र कानुनी प्रक्रियामा जाने निर्णय गरेकाे छ । नगर प्रमुख चक्रपाणी अर्यालले घटनालाई जनप्रतिनिधि र कर्मचारीको चरित्र हत्या गर्ने प्रयासका रूपमा टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, नगरपालिकाको परिसरमा फोहोर फालेर गरिएको यो कार्य अपमानजनक र बदनियतपूर्ण छ। यस्ता अराजक गतिविधिलाई कुनै पनि हालतमा क्षमा दिन सकिँदैन। हामी यसको सशक्त र सामूहिक प्रतिवाद गर्नेछौँ र दोषीलाई कानुनी कठघरामा ल्याउनेछौँ।

बैठकमा शिवमन्दिर सामुदायिक बन समूहका अध्यक्ष झलक बहादुर मल्ल ठकुरी, श्रृगिंघाटका अध्यक्ष शुशिल सिंह ठकुरी, नवप्रभातका अध्यक्ष डिल्लीराज रेग्मी, मधौलियाका अध्यक्ष खडानन्द गौतम, भुपु सैनिक खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष राजेन्द्र विक्रम शाह, वाणगंगा खानेपानीका अध्यक्ष विश्व कार्की, र वडा अध्यक्षहरूले पनि यस घटनालाई गैरकानुनी भन्दै कडा आपत्ति जनाएका छन्। घटनाको नेतृत्व गर्ने र समूहलाई कानुनी कारबाही अगाडि बढाउने नगरपालिकाको तयारी छ।
फोहोर व्यवस्थापनमा चुनौती र योजना ः
नगरपालिकाले फोहोर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाइरहेकै समयमा यो घटना भएको जनाएको छ। प्रवक्ता एवं वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले जनप्रतिनिधिको धैर्यतालाई कमजोरीको रूपमा नलिन चेतावनी दिँदै वडा तहमा फोहोर व्यवस्थापनका लागि गम्भीरतापूर्वक काम भइरहेको बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीका अनुसार जग्गा प्राप्ति मुख्य चुनौती भएकाले दीर्घकालीन समाधानका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढिरहेको छ। हाललाई भलवाड नमुना सामुदायिक वन क्षेत्रमा दीर्घकालीन व्यवस्थापन केन्द्र बनाउने लक्ष्य राखिएको छ। नागरिक सहभागिता तत्कालका लागि घर र पसलबाटै फोहोरको वर्गीकरण (कुहिने र नकुहिने) गर्नु नै मुख्य विकल्प रहेको उहाँको भनाइ छ।
नगरपालिकाले हालको समस्यालाई अवसरको रूपमा लिएर सरसफाइ र पोषणयुक्त नगरपालिकाको सामाजिक अभियानलाई अझ प्रभावकारी बनाउने प्रण गरेको छ। सेवा प्रवाह, नीति र विधिमा स्मार्ट बन्दै फोहोरको दिगो समाधान खोज्न नगरपालिका प्रतिबद्ध रहेको बैठकमा जानकारी दिनुभयाे ।







प्रतिक्रिया