४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

हावाहुरीले केराखेतीमा दुई लाख ८५ हजार क्षति



घोराही। दाङमा आएको हावाहुरीका कारण केराका बोट ढल्दा व्यावसायिक केराखेतीमा क्षति पुगेको छ । वैशाख २० गते आएको हावाहुरीका कारण घोराही उपमहानगरपालिका–१२ हापुर रतनपुरमा व्यावसायिक रूपमा केराखेती गर्दै आउनुभएका हुमबहादुर केसीले लगाएको चार बिघामध्ये दुई बिघा क्षेत्रफलमा रहेका केराका बोट ढलेर नष्ट भएका हुन् ।

फल लागेर बिक्रीका लागि तयार हुँदै गरेका तथा भर्खरै पसाउन थालेका ४१३ वटा केराका बोट हावाहुरीले ढालेपछि क्षति पुगेको किसान केसीले बताउनुभयो । उहाँका अनुसार करिब दुई लाख ८५ हजार पाँच सय रुपैयाँ बराबरको क्षति भएको छ ।

‘एनिमल सनसाइन बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म’ दर्ता गरी हापुर रतनपुरस्थित माध्यमिक विद्यालय हापुरको १० बिघा जग्गा भाडामा लिएर विगत पाँच वर्षदेखि केराखेती गर्दै आउनुभएका केसीले साना बोटमा कम असर परेको भए पनि ठूला तथा पसाउने तयारीमा रहेका धेरै बोट ढलेको बताउनुभयो ।

उहाँका अनुसार साना बिरुवा रहेको क्षेत्रमा आंशिक क्षति भए पनि ठुला बिरुवा भएको क्षेत्रमा पूर्ण क्षति पुगेको छ ।

प्यूठानको ऐरावती गाउँपालिका–२ निवासी केसीले विद्यालयलाई वार्षिक ७० हजार रुपैयाँ भाडा तिर्दै आउनुभएको छ । भाडामा लिएको १० बिघा जग्गामध्ये हाल चार बिघामा केराखेती गरिएको र बाँकी जग्गामा मौसमअनुसार मकै, तोरी, मसुरोलगायतका बाली लगाइने गरेको उहाँले बताउनुभयो ।

फर्ममा उत्पादन भएका केरा गाउँघरका साथै घोराही बजारमा बिक्री गर्दै आएको र मासिक ४० देखि ५० हजार रुपैयाँसम्म बचत हुने गरेको उहाँको भनाइ छ । व्यावसायिक केराखेतीसँगै कुखुरापालनसमेत गर्दै आउनुभएका केसीले स्थानीय चार जनालाई रोजगारी पनि दिनुभएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८३ बिहिबार ००:००  १० : २४ बजे