२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

देशमा विद्युत् जडित क्षमता ४ हजार २ सय ९६ मेगावाट पुग्यो



काठमाण्डौ ।

देशको कूल विद्युत् जडित क्षमता ४ हजार २ सय ९६ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले उत्पादन गरेको विद्युत्का आधारमा क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

चालू आर्थिक वर्षको अन्त्यसम्म कूल जडित क्षमता ४ हजार ५ सय मेगावाटभन्दा माथि पुग्ने मन्त्रालयको प्रक्षेपण छ । अहिले निर्माणको क्रममा ३ हजार मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ६६ केभीभन्दा माथिका झन्डै ७ हजार ३ सय ६० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । यस्तै, १४ हजार ३ सय २३ एमभीए क्षमताको सवस्टेसन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने ३३ केभी क्षमताका झन्डै ८ हजार २ सय २५ सर्किट किलोमिटर प्रसारण लाइन तथा ३ हजार ३ सय ८ एमभीए क्षमताको सबस्टेसन निर्माण भएका छन् ।

देशभरको विद्युत् चुहावट १२.५ प्रतिशतमा सिमित भएको प्राधिकरणले जनाएको छ । सवस्टेसनको क्षमता विस्तार, प्रसारण लाइनको स्तरोन्नति तथा प्राविधिक उपाय अवलम्बन गर्दै चुहावट घटाइने मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रतिव्यक्ति विद्युत् खपत ४ सय ५० किलोवाट घण्टा बराबर पुगेको छ । यस्तै राष्ट्रिय विद्युत् प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युतमा पहुँचमा पहुँच प्राप्त जनसङ्ख्या ९९ प्रतिशत बराबर पुगेको सरकारको दाबी छ । 

प्रकाशित मिति : २६ बैशाख २०८३ शनिबार ००:००  ९ : ३६ बजे