बाबुराम रायमाझी,असोज २५
अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ र कपिलवस्तुको वाणगंगा नगरपालिका–९ जोड्ने मुसिवान स्थित मोटरेबल पुलको उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित एक समारोहबीच पुलको उद्घाटन गरिएको थियोे ।पुल निर्माण सम्पन्न भएसँगै शितगंगा नगरपालिका–१३ र वाणगंगा नगरपालिका–९ का स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ। दुई स्थानीय तहलाई जोड्ने यस पुलले स्थानीयस्तरमा यातायातको पहुँच विस्तार गर्न, आवागमनलाई सहज बनाउन तथा सामाजिक र आर्थिक गतिविधिलाई थप गतिशील बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
थापा इन्जिनियरिङ कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको उक्त मोटरेबल पुल ५ करोड ४० लाख रुपैयाँको लागतमा दुई वर्षको अवधिमा सम्पन्न भएको हो। पुल निर्माण भएपछि स्थानीय बासिन्दाले वर्षायाम लगायतका समयमा आवतजावत गर्दा भोग्नुपर्ने समस्यामा कमी आउने अपेक्षा गरिएको छ।
पुल उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य विष्णु पन्थी, शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेल, उपप्रमुख गीता भाट क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत नारायण ज्ञवाली, नगर प्रवक्ता दामोदर न्यौपाने, शितगंगा नगरपालिका–१३ का वडाध्यक्ष दुर्गा बिसी तथा वाणगंगा नगरपालिका–९ का वडाध्यक्ष कमल पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वक्ताहरूले पुल निर्माणले दुई स्थानीय तहबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै स्थानीय बासिन्दाको दैनिक जीवनयापन, कृषि उपजको ओसारपसार तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए। उनीहरूले स्थानीय पूर्वाधारको विकासले ग्रामीण क्षेत्रको समृद्धि र नागरिकको सहज आवागमनमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए।
कार्यक्रममा सञ्चारकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। स्थानीयस्तरमा यातायात पूर्वाधार विस्तार गर्ने उद्देश्यसहित निर्माण गरिएको पुलको उद्घाटनलाई क्षेत्रको विकाससँग जोडेर हेरिएको छ।कार्यक्रमको सहजीकरण सञ्चारकर्मी चेतन विष्टले गरेका थिए।
२५ आश्विन २०८३ आइतबार ००:००
0
Shares










प्रतिक्रिया