२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

जुम्लाबाट आएको स्याउ कुहिएपछि देबी बहादुर संकटमा, नगद र चेक बुझाएको थापाको गुनासो


२५ आश्विन २०८३ आइतबार ००:००  

0
Shares

कपिलवस्तु । वाणगंगा नगरपालिकाको चारनम्बरमा सटर भाडामा लिएर स्याउको व्यापार गर्दै आएका देवी थापा जुम्लाबाट मगाएको स्याउ कुहिएपछि आर्थिक संकटमा परेका छन्। २०० मध्ये गोदाममा रहेका करिब १०० कार्टुन स्याउ बिक्री गर्न नसकिने अवस्थामा पुगेपछि उनले आपूर्तिकर्ताबाट क्षतिपूर्तिको माग गरेका छन्।

थापाका अनुसार स्याउ खरिद तथा ढुवानी खर्चसहित १ लाख ४१ हजार रुपैयाँ नगद बुझाएका छन् भने स्याउको मूल्यबापत २ लाख १० हजार रुपैयाँको चेकसमेत आपूर्तिकर्तालाई दिएका छन्। तर, गोदाममा आइपुगेको स्याउ कुहिएर बिक्री गर्न नसकिने भएपछि आफू ठूलो आर्थिक समस्यामा परेको उनको भनाइ छ।

थापाले असोज दोश्रो साता स्याउ आइपुगेको राति १०–१२ कार्टुन खोलेर हेर्दा राम्रो देखिएकाले बाँकी कार्टुनको स्याउ पनि ठीकै होला भन्ने विश्वास गरेको बताए। पछि अन्य कार्टुन खोल्दा स्याउ कुहिएको र बिक्री गर्न नसकिने अवस्थामा रहेको थापाको भनाइ छ। जुम्लाबाट स्याउ पठाउने व्यापारीले एउटा नमुना देखाएर अर्को गुणस्तरको स्याउ पठाएको उनको आरोप छ। पटक–पटक फोन गर्दा पनि समस्या समाधान नभएपछि उनी प्रहरी र पत्रकारसमक्ष पुगेका हुन्। स्याउको अवस्था थाहा पाएलगत्तै आपूर्तिकर्ता विरु शाहीलाई जानकारी गराउँदा पनि उनी आउन ढिलाइ गरेको थापाले गुनासो गरे।

“१०० कार्टुन मात्रै स्याउ बेचेर मैले कहाँबाट पैसा बुझाउने ? म त डुबिसकेँ। साहुले पैसा माग्न छोड्दैन,” थापाले दुखेसो पोखे।

यता, स्याउ आपूर्तिकर्ता विरु शाहीले किसानबाट खरिद गरिएको स्याउ कर्णालीको बाटोमा भएको समस्याका कारण केही दिन रोकिएको बताएका छन्। बाटोमा भएको ढिलाइले स्याउको गुणस्तरमा असर परेको हुन सक्ने उनको भनाइ छ।

मायादेवी अनलाइनसँगको कुराकानीमा शाहीले कुल कारोबारको रकममध्ये केही घाटा आफूले पनि व्यहोर्ने बताएका छन्। स्याउको गुणस्तरमा देखिएको समस्याका कारण व्यापारी थापा आर्थिक संकटमा परेका छन् भने आपूर्तिकर्ता शाहीले पनि केही घाटा व्यहोर्ने बताएका छन्

प्रकाशित मिति : २५ आश्विन २०८३ आइतबार ००:००  ४ : २१ बजे