१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मन्त्रिपरिषद् बिस्तार अझै एक साता पर धकलिने संकेत



काठमाडौँ ।
सरकार गठन भएको २३ दिन बित्तिसक्दा पनि मन्त्रिपरिषद् बिस्तार गर्न नसक्दा प्रधामन्त्री शेरबहादुर देउवाकै क्षमतामाथि प्रश्न उठ्न थालेको छ।

नेकपा एमाले माधवकुमार नेपाल पक्षको प्रतिक्षा गर्दा मन्त्रिपरिषद् बिस्तार हुन नसकेको सत्ता गठबनधनका नेताहरुले दाबी गर्दै आएका छन्।
फेरि पनि नेपाल पक्षकै कारण मन्त्रिपरिषद् बिस्तार अझै कम्तीमा एक साता पर धकेलिने संकेत देखिएको छ।

नेपालले मंगलबार आफ्नो पार्टीमा एकताको प्रयास भइरहेको र त्यसको नतिजा नआउञ्जेल मन्त्रिपरिषद् बिस्तार नगर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष नारायणकाजी श्रेष्ठमार्फत प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन्।

नेपालले बुधबार आफू पक्षीय केन्द्रीय कमिटी बैठक पनि बोलाएको र त्यसबाट पनि आगामी राजनीतिक बाटो पहिल्याउन सहयोग मिल्ने भएकाले एक दुई दिन आफ्ना लागि कुर्न प्रचण्ड र श्रेष्ठलाई आग्रह गरेका थिए।

श्रेष्ठले सुरुदेखि अहिलेसम्म नेपाल पक्षको प्रतिक्षा गर्दा मन्त्रिपरिषद् बिस्तारमा ढिलाई भएको बताए। ‘हामी नेपाल पक्ष सरकारमा सहभागी भइदियोस् भन्ने चाहन्छौँ। उहाँहरुले पार्टी एकता नभएमा सरकारमा आउने आश्वासन दिनुभएको छ। वास्तवमा हामीले उहाँहरुको प्रतिक्षा गरिरहेका छौँ’, उनले भने।

तर यसअघि बुधबार तय गरेको आफू पक्षीय केन्द्रीय कमिटी बैठक बिहीबार गर्ने निर्णयमा नेपाल पुगेका छन् ।

उनले आफू पक्षीय केन्द्रीय कमिटी बैठक एक दिन पर धकल्नुमा मुख्यतया दुई कारण छन् ।

पार्टी एकताका लागि एमाले विवाद समाधान सम्बन्धी कार्यदलका पूर्व सदस्यहरु एकताका लागि अन्तिम प्रयासमा जुटेको र केन्द्रीय सदस्यहरु बाहिरबाट आउनु पर्ने भएकाले उनीहरुका लागि एक दिन समय अपुग भएकाले नेपालले बैठक धकेलेका हुन् ।

एक दिन पर धकेलिएको बैठक कम्तीमा तीन दिन चल्ने नेपाल पक्षका नेताहरुको भनाइ छ । बैठक नसकी आफूहरु सरकारमा जाने या नजाने निधो गर्न असक्षम हुने उनीहरु दाबी गर्छन्।

नेपालले अध्यक्ष ओलीले पदबाट राजीनामा दिनु पर्ने या आफूले पनि उनी सरह हैसियत पाउनु पर्ने, संसद विघटनलगायत राजनीतिक मुद्धामा ओलीले माफी माग्नु पर्नेलगायत अडान लिएका छन् ।

ओली त्यसो गर्न तयार नभएपछि एकता प्रयास लम्बिरहेको छ। र, यसका कारण देउवा सरकारको मन्त्रिपरिषद् बिस्तारमा विलम्ब भएको छ।

प्रकाशित मिति : २० श्रावण २०७८ बुधबार ००:००  १२ : ५८ बजे