मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा सिकाई सहजीकरण केन्द्र सञ्चालनको माग गर्दै नगरमा ज्ञापनपत्र पेश गरिएको छ । नगर प्रमुख मंगल प्रसाद थारु, उपप्रमुख चक्रपाणी अर्याललाई नगरभित्र रहेका नेपाल शिक्षक महासंघ नगर कार्य समितिका प्रतिनिधि डिबी रेश्मी, नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कार्य समितिका अध्यक्ष धनु गाह, नेपाल शिक्षक संघ नगर कार्य समितिका अध्यक्ष रामप्रसाद भण्डारी, प्याब्सन वाणगंगा नगर कार्य समितिका प्रतिनिधि दीपक अधिकारी, एन प्याब्सन नगर कार्य समिति र कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे लगायतका प्रतिनिधिले सिकाई सहजीकरण केन्द्र सञ्चालनको माग गर्दै हस्ताक्षरित ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा नेपाल सरकारबाट जारी भएको सिकाई सहजीकरण निर्देशिका ०७७ अनुसार विद्यालयमा सिकाई सहजीकरण केन्द्र सञ्चालन गर्ने माग छ । यस्तै सिकाई सहजीकरण निर्देशिका ०७७ को दफा १९ ३३ (२) र ३३ (३) अनुसार कार्यान्वयनमा ल्याउनुपर्ने, विद्यार्थी संख्या र विद्यालयको सेवा क्षेत्रको आधारमा विद्यालयले सिकाई केन्द्रको संख्या आश्यकता अनुसार सञ्चालन गर्ने, प्रत्येक सिकाई केन्द्रको एउटा कक्षामा बढीमा २५ जना विद्यार्थी र सिकाई केन्द्र विद्यालय हाता भित्र र अन्य ठाउँमा सञ्चालन गर्न सकिने लगायतका ज्ञापन पत्रमा माग गरिएको छ ।
साथै ज्ञापनपत्र पेश गर्ने क्रममा व्याब्सनका केन्द्रीय सचिवालय सदस्य सर्वेन्द्रदेव खनालले विद्यालय सञ्चालनको अधिकार स्थानीय सरकारमा रहेको हुनाले कोभिडका कारण रोकिएको अध्ययन, अध्यापन सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख थारु, उप प्रमुख अर्यालले नगरका शिक्षासंग सम्बन्धित सरोकारवालालाई बोलाई तत्काल आवश्यक निर्णय लिने बताउनुभयो ।








प्रतिक्रिया