मायादेवी अननलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा शिक्षक र प्रहरी बीच तिक्तता बढेको छ । कोरोना भाइरसको कारण विद्यालय बन्द भएको बेला पनि विद्यालय सञ्चालन गरेको भन्दै इलाका प्रहरी कार्यालय पिपराले सोमबार केही प्रधानाध्यापकलाई प्रहरी कार्यालयमा लगेर आगामी दिनमा विद्यालय नखुलाउने शर्तमा हस्ताक्षर गराएको थियो ।
पिपराबाट खटिएको प्रहरी टोलीले कोरोनाको बेला बन्द रहेका विद्यालय सञ्चालन गरेको भन्दै प्रधानाध्यापकलाई प्रहरी कार्यालयमा हाजिर हुन निर्देशन दिएको थियो । प्रहरीको निर्देशन पश्चात विद्यालय सञ्चालन गरेका विद्यालयका प्रधानाध्यापक पिपरा पुगेका थिए ।
यो घटना एकाएक बाहिर आएपछि सरोकारवालाहरुले विभिन्न प्रतिकृया जनाउँदै विभाजित देखिएका छन् । कतिपयले कोरोनाका कारण विद्यालय खुलाउनु गल्ती भएको बताएका छन् भने, कतिपयले प्रहरीले शिक्षकमाथि ज्यादती गरेको आरोप लगाएका छन् ।
विद्यालय शान्ति क्षेत्रका रुपमा रहेको भएपनि प्रहरीले विद्यालय परिसरमै पसेर प्रधानाध्यापकलाई समात्नु आपत्तिको विषय भएको शिक्षक सम्बद्ध संघ संस्थाले बताएका छन् । माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको मातहतमा रहेको भन्दै विद्यालयको चासो प्रहरीलाई हुन नहुने अधिकांशको मत छ ।
वाणगंगा क्षेत्रका विद्यालयले बैकल्पिक माध्यमबाट पठनपाठन गरेको भएपनि प्रहरीले अनावश्यक हस्तक्षेप गरेको शिक्षकहरु बताउँछन् । कोरोनाको कहरबाट बच्नका लागि शिक्षकहरु संवेदनशिल रहेको भन्दै आफुहरुलाई यो बेला विद्यालयमा गएर पढाउन रहर नभएको बताएका छन् । यद्यपि विद्यार्थीको भविष्य चौपट भएको र कोरोनाको जोखिम कम हुँदै गएपछि आफुहरुले बैकल्पिक माध्यमबाट विद्यालय सञ्चालन गरेको शिक्षकको दाबी छ ।
प्याब्सनका केन्द्रिय सचिवालय सदस्य सर्वेन्द्रदेव खनालले शिक्षकहरु प्रति प्रहरीले निन्दनीय व्यवहार गरेको बताउनुभयो । विद्यालय भित्र बर्दी लगाएर प्रहरी पस्नु नेपालको कानुन विपरितको कार्य भएको खनालले बताउनुभयो । नगरपालिकाले भर्खरै बालमैत्री नगर घोषणा गरेको भन्दै पिपरा प्रहरीले गरेको व्यवहार यसको मर्म विपरित रहेको बताउनुभयो । विद्यालय परिसर भित्र बर्दीमै प्रवेश गरी प्रहरीले विद्यार्थी सामु भिडिओ खिच्ने, सोधपुछ गर्दै आतङ्कित पार्ने काम गर्नु गलत रहेको उहाँले बताउनुभयो ।
हिसान कपिलवस्तुका अध्यक्ष बासुदेव घिमिरेले शिक्षक साथीहरुको मनोवल गिर्ने गरी प्रहरीले गरेको क्रियाकलाप प्रति सबै निकायबाट विरोध जनाउनुपर्ने बताउनुभयो । सडकमा यातायात संचालन हुने, आन्दोलनमा भीडभाड हुने, सभा समारोह हुने तर सुरक्षाको मापदण्ड अपनाउँदै शिक्षण सिकाई निर्देशिका २०७७ को मापदण्ड अनुसार २५ जना राखेर विद्यालयमा पढाउँदा अपराध नै गरे जसरी शिक्षकलाई हिरासतमा राख्ने प्रहरीको कदम विरुद्ध अब चुप लागेर बस्न नहुने बताउनुभयो ।
यता इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले अहिलेको अवस्थामा केन्द्र, प्रदेश र स्थानीय कतै पनि शिक्षण संस्था खोल्ने अनुमति नभएको बताउनुभयो । कतिपय विद्यालयले यो बेला पनि शिक्षण संस्था खोलेको गुनासो अभिभावक र सरोकारवाला निकायबाट प्रहरी सामु आएपछि अनुगमनका क्रममा विद्यालय सञ्चालन भएको भेटिए पछि एक्सनमा उत्रिएको बताउनुभयो । यद्यपि शिक्षकले भने जसरी कुनै धरपकड भने आफुहरुले नगरेको उहाँले दाबी गर्नुभयो । विद्यालय सञ्चालन गरेका प्रधानाध्यापकलाई कार्यालयमा बोलाएर अब देखि विद्यालय नखुलाउने कागज मात्र गराएको भन्दै यो पनि छलफल पछि मात्र भएको उहाँले बताउनुभयो । प्रहरी निरिक्षकको कार्यकक्षमा बसेर प्रधानाध्यापकसंग विद्यालय नखुलाउने गरी कागज गराएको उहाँले बताउनुभयो । कोभिड-१९ नियन्त्रण सम्बन्धि अध्यादेश अनुसार आफुले कदम चालेको उहाँले प्रष्टाउनुभयो ।
नगरको शिक्षा शाखाले पनि अहिले नगर भित्रका विद्यालय खुलाउने कुनै निर्णय नभएको भने पछि आफुहरुले एक्सन चाल्न बाध्य भएको उहाँले भनाई छ । प्रहरीले कुनै गलत मनशायले यो काम नगरेको भन्दै कोरोनाको जोखिम कम गर्न अभियान चालेको उहाँले बताउनुभयो ।







प्रतिक्रिया