२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

प्रधानमन्त्री देउवा : विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी परीक्षाबारे आवश्यक निर्णय हुन्छ




काठमाण्डौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी परीक्षाबारे आवश्यक निर्णय गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री देउवासँगको भेटमा आफूहरुले विद्यार्थीलाई अलमलमा नपर्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेको र जवाफमा उहाँले आवश्यक निर्णय गर्ने विश्वास दिलाउनुभएको कांग्रेस नेता गगन थापाले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित नजिक आएका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिसकेको छ । मन्त्रालयको सिफारिसपछि परीक्षा के हुन्छ भन्नेमा विद्यार्थी र शिक्षक अन्योलमा छन् । यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ ।

कोरोना सङ्क्रमण बढ्दै गएकाले कक्षा १२ सहितका अरु परीक्षा रोक्न सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिनुभयो । कक्षा १२ को परीक्षा आउँदो ३१ गतेदेखि सुरु हुँदैछ । कक्षा १२ को परीक्षामा झण्डै चार लाख विद्यार्थी सहभागी हुँदैछन् ।

यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७८ शनिबार ००:००  ११ : ५६ बजे