मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले धार्मिकस्थल रामदतिवनलाई आफुहरुले कुनै हस्तक्षेप नगरेको बताउनुभएको छ । वाणगंगा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष ध्रुव बेल्वासेले शनिबार एक कार्यक्रममा बोल्दै बुद्धभूमि नगरपालिकाले रामदतिवनमा हस्तक्षेप गर्न खाजेको आरोप लगाउनुभएको थियो ।
उक्त आरोपको समाचार मायादेवी अनलाइनमा प्रकाशित भएपछि बुद्धभूमिका नगर प्रमुख श्रेष्ठले आरोप निराधार भएको बताउनुभएको हो । पवित्र भावनाले रामदतिवनमा आफुहरुले सहयोग गरेको भन्दै गलत मनसायले नबुज्न सम्बन्धित पक्षलाई उहाँले आग्रह गर्नुभयो । रामदतिवन वाणगंगाको भूमि भएकोमा कुनै शंका नभएको भन्दै बुद्धभूमिले कसरी हस्तक्षेप गर्न सक्छ ? भन्दै उहाँले प्रश्न गर्नुभएको छ ।
बुद्धभूमिसंग सीमा जोडिएको रामदतिवन सिंगो जिल्लाको धार्मिक आस्थाको केन्द्र भएको भन्दै त्यसको विकासमा सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो । पवित्र भावना बोकेर विकास गर्दा हस्तक्षेप भएको बुज्नेलाई प्रश्नको जवाफ दिन नसकिने उहाँले प्रष्ट्याउनुभयो ।
बुद्धभूमि नगरपालिकाले लक्ष्मणघाटमा हुने दाहसंस्कारलाई थप व्यवस्थित बनाउनका लागि चालु आवमा २० लाख बजेट दिएको भन्दै त्यहाँ पनि हस्तक्षेप भएको बुज्ने ? भन्दै प्रश्न गर्नुभएको छ ।
आफुहरु जनताको सरोकार राख्ने हरेक क्षेत्रमा लगानी गर्न तयार रहेको भन्दै सहमती, सहकार्य र स्वच्छ भावनाले विकास निर्माणमा काम गर्नुपर्नेमा नगर प्रमुख श्रेष्ठले जोड दिनुभएको छ ।







प्रतिक्रिया