२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

बाढीले बगाउदा जुम्लाका एकै घरका तीनजनाको मृत्यु



जुम्ला ।
बाढीले बगाएर तातोपानी गाउँपालिका-७ का एकै घरका तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक युवन चौधरीका अनुसार ६० वर्षीय बीर्खे रावत, ३५ वर्षीया जैसरी रावत र उनका १० वर्षीय छोरा सन्देशको मृत्यु भएको हो। बिर्खे रावत जैसरीका जेठाजु हुन्।

सेतक चिनी कोरेर पाटनबाट घर फर्किने समयमा ताम्तीको घट्टे खोला तर्ने क्रममा बाढीले उनीहरुलाई बगाएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए। उनले भने, ‘बाढी आएर पानी थुनिएको रहेछ। उनीहरु खोला तर्ने र थुनिएको बाढी फुट्ने बेला सँगसँगै भएपछि उनीहरुलाई बगाएको रहेछ।’

उनीहरु साउन २८ गते साँझ घर फर्किएका थिए। राति अबेरसम्म पनि घर नपुगेपपछि परिवारका सदस्यले खोजी थालेका थिए। शुक्रवार वडा नम्बर ७ का वडा अध्यक्ष मर्कर रावत र टोप्ला प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरुको शव फेला पारेको थियो।

प्रहरी निरीक्षक चौधरीका अनुसार खोलाबाट तीनैजनाको शव निकालिसकिएको छ। उनीहरुको दाहसंस्कार शनिबार गरिने छ।

प्रकाशित मिति : ३० श्रावण २०७८ शनिबार ००:००  १२ : २७ बजे