२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

काबुल विमानस्थलमा आइतवारयता १२ जनाको ज्यान गयो



काठमाण्डौ ।

अफगानिस्तानको काबुल विमानस्थलमा गएको आइतवारयता १२ जनाको ज्यान गएको तालिबानका एक अधिकारीले बताएका छन् ।
विमानस्थलमा गोली चल्दा र भागदौड मच्चिँदा अहिलेसम्म नौ जनाको ज्यान गएको तालिबान अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन् ।
साथै तालिबान अधिकारीले यात्राका लागि वैध प्रमाणपत्र नहुनेलाई विमानस्थलमा भिड नगर्न पनि अपिल गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘विमानस्थलमा तालिबान कसैलाई पनि क्षति पुर्याउन चाहँदैन ।’

यसअघि अमेरिकी वायु सेनाले पनि सोमवार केही व्यक्तिको ज्यान गएको र त्यसबारेमा जाँच भइरहेको बताएको थियो । तर उसले ज्यान गुमाउनेको सङ्ख्या बताएको थिएन । अगस्ट १५ आइतवारका दिन तालिबानले राजधानी काबुल नियन्त्रणमा लिएपछि धेरै सङ्ख्यामा अफगान नागरिक त्यो ठाउँ छाडेर बाहिर जान खोज्दा विमानस्थलमा निकै भिड बढेको थियो । यही कारण त्यहाँ भागदौडको स्थिति बनेको थियो ।

त्यही दिन सयौँ नागरिक काबुल विमानस्थलभित्र गएका थिए र केही व्यक्ति त अमेरिकी विमानको पाङ्ग्रा र पङ्खामा चढेको पनि तस्बिर सार्वजनिक भएको थियो । साथै केही व्यक्ति उडिरहेको विमानबाट खसेको भिडियो पनि सार्वजनिक भएको थियो ।
त्यसपछि अमेरिकी सेनाले विमानस्थल नियन्त्रणमा लिएको थियो । अहिले पनि विमानस्थलमा अमेरिकी सेना तैनाथ छन् र विमानस्थलसम्म पुग्ने सडकमा तालिबान लडाकु गस्ती गरिरहेका छन् ।

प्रकाशित मिति : ३ भदौ २०७८ बिहिबार ००:००  ३ : ४२ बजे