काठमाण्डौँ ।
हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी आज धुमधामका साथ मनाइँदैछ। जनै पूर्णीमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा(बन्धन बाँध्ने परम्परा छ।
यस दिन तराईमा दिदीबहिनीले दाजुभाइको नाडीमा राँखी बाँधेर मनाउने गर्छन्। यस्तै नेवारी समुदायमा क्वाँटी खाएर अर्थात् भ्यागुताको पूजा गरेर पर्व मनाउने प्रचलन छ।
यस दिनमा बिहान नुहाइ धुवाइपछि जौं, तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ। ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी भन्ने गरिएको हो।
नयाँ जनै फेर्ने
यसै दिन आत्माको शुद्धीकरण र शरीर रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको सांस्कृतिविद गोविन्द टण्डनले बताए। उनले भने, मन्त्रिएको जनै फेर्ने भएकाले श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भन्ने गरिएको हो।ु उनका अनुसार आजकै दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिन्छ।
वैदिक परम्पराअनुसार जनैलाई ज्ञानको धागोसमेत भनिन्छ। संस्कृतिविद् टन्डनका अनुसार जनैका दुई डोरामध्ये एउटा डोरामा रहने तीन शिखालाई ब्रम्हा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ। अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको रुपमा मानिन्छ।
जनैपूर्णीका दिन पितृलाई तर्पण दिने गरिन्छ। यस दिन काठमाडौंको पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा मेला लाग्ने गर्छ।यस दिन पितृलाई तर्पण दिँदा मृत आत्माहरुको मनले शान्ति पाउने विश्वास छ।
यसै दिन तराईमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेको छ। यस दिन दिदीबहिनी तथा दाजुभाइ एकै ठाउँमा जम्मा भएर राखी बाँधी गच्छेअनुसारको उपहार आदानप्रदान गर्छन्।
नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन्। यस समुदायमा नौवटा गुडागुडी मिश्रण गरिएको क्वाँटी खाने प्रचलन छ। पछिल्लो समय यो खान्की नेवार समुदायबाट विस्तार भएर अन्य समुदायसम्म पुगेको छ। अन्य समुदायका मानिसले जनै फेरेर क्वाँटी खाने गर्छन्। टुसा पलाएको पौष्टिक तत्वयुक्त क्वाँटी स्वास्थ्यलाई फाइदाजनक हुने चिकित्सकहरु बताउँछन्।
यस दिन नेवारी समुदायका मानिसले धुमधामका साथ भ्यागुताको पूजा गर्छन्।भ्यागुतालाई पानीको प्रतीकका रुपमा लिइने भएकाले यसको रक्षा गर्न जनैपूर्णिमाका दिन विशेष पूजा गरिँदै आएको हो। ताल, पोखरी, कुवा तथा पानीको तलाउमा भ्यागुता रहने र यसले पानीको बचाउ गर्छ भन्ने विश्वासका साथ यस दिन क्वाँटी दिएर पूजा गरिएको हो।
क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गुडागुडीको मिश्रणबाट बनेको हुन्छ। यसले शरीमा ताप कायम राख्ने र वर्षायाममा लाग्ने चिसोका रोगबाट बच्ने शरीरलाई शक्ति दिने भएकाले यस दिन क्वाँटी खाने चलन रहेको सांस्कृतिविद् टन्डनको भनाइ छ।
आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ । नेवार समुदायले आजको दिनलाई ‘गुंला महिनाको पुन्हि’ अर्थात् ‘गुंपुन्हि’ भनी मनाउँछन् ।यसै दिन दिदी–बहिनीहरूले आफ्ना दाजु–भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फूल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । आजको दिन कज्वाइँ–ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ ।
यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अंकुरित भएका गेडागुडीबाट बनेको ‘क्वाति’ हो । नेपालभाषामा क्वातिको शाब्दिक अर्थ ‘क्वा’ भनेको तातो परिकार ‘ति’ भनेको झोल त्यसैले “क्वाति“ भनेको झोलिलो परिकार हो । आजको दिनलाई क्वाति खाने दिन पनि भनिन्छ ।
नेवार समुदायले आज गुंपुन्हि मनाउँछन् । यस्तै आजै संस्कृत भाषाको वस्तुगत महत्वलाई जनसमक्ष पुर्याउन र संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न, बौद्धिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्षको जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिएको छ । ५००० वर्षभन्दा पुरानो इतिहास रहेको संस्कृत भाषाको दिन नै श्रावण पूर्णिमाको दिनमै वेद पाठनको शुरुवात हुने भएकाले आजको दिन नै संस्कृत दिवस भनेर मनाइन थालेको हो ।
युवा समुदायमा संस्कृत भाषाप्रतिको मोह त्यति नरहेको हुँदा पनि आजको दिनले संस्कृत भाषाको मोह युवा पुस्तामाझ स्थापित गराउने सोचमा आजको यस दिन मनाउन थालिएको हो । आजको दिन देशभर संस्कृत जागरणका लागि विभिन्न कार्यक्रमको आयोजना गरिने गरिन्छ ।







प्रतिक्रिया