२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

अफगानिस्तानमा आईएसबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन अमेरिकाको आग्रह




काठमाण्डौ ।
अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई इस्लामिक स्टेट आईएसबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । अमेरिकाले अफगानिस्तानमा रहेको आईएसको शाखाबाट काबुल विमानस्थलमा रहेका आफ्ना नागरिकमाथि आक्रमण हुनसक्ने भन्दै सचेत गराएको हो ।

यस्तै, अमेरिकी सरकारको प्रतिनिधित्व गर्ने व्यक्ति तथा संस्थालाई पनि सचेत गराइएको छ । काबुल विमानस्थलबाट अहिलेसम्म १७ हजार मानिसलाई बाहिर निकालेको र यसमध्ये २५ सय जना अमेरिकी नागरिक रहेका बीबीसीले जनाएको छ । काबुल विमानस्थल अहिले अमेरिकी सेनाको नियन्त्रणमा रहेको छ ।

केही दिन अघि अमेरिकी सैनिक र अफगानिस्तान सरकारलाई सहयोग गरेकाहरूलाई तालिबानले खोजी गरिरहेको खबर सार्वजनिक भएको थियो । यसैबीच, तालिबानले सञ्चारमाध्यमलाई दबाब र प्रभावमा नराख्ने प्रतिबद्धता जनाएको छ । सञ्चारमाध्यमसँग राम्रो सम्बन्ध राख्न समिति नै गठन गर्ने तालिबानले जनाएको छ । समितिमा तालिबानका एक प्रतिनिधि, मिडिया प्रोटेक्शन एसोसिएशनका प्रमुख र काबुल प्रहरीका एक अधिकारी हुनेछन् ।

तालिबानको कब्जामा आएसँगै अफगानिस्तानमा पत्रकारका लागि चुनौती बढेको विश्लेषण गरिएको छ । त्यहाँका केही पत्रकार महिलालाई रिपोर्टिङको कामका लागि रोक लगाइएको थियो । तालिबानले आफ्नो शासन पहिले भन्दा फरक हुने बताउँदै आएको छ ।

उसले सरिया कानुन अनुसार महिलालाई काम गर्न दिने बताउँदै आएको छ । यस्तै, तालिबानले निश्चित शर्तमा विदेशी सञ्चारकर्मी र पत्रकारलाई काम गर्न दिने बताएको छ ।

प्रकाशित मिति : ६ भदौ २०७८ आइतबार ००:००  १२ : ३४ बजे