२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

लुम्बिनीका मुख्यमन्त्री केसीले मागे विश्वासको मत, एमालेको बहिष्कार



काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिष्कारबीच लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत मागेका छन्। चौथो बैठक तय भएको आधा घण्टापछि भर्खर शुरू भएको छ। केसीले सदनसमक्ष विश्वासको मत दिन माग गरेका छन्। विश्वासको मत माग्दै केसीले कुनै प्रकारको दम्भ र अहङ्कार बिना नै आफ्नो नेतृत्वको सरकारले जनताको पक्षमा विनम्रतापूर्वक काम गर्ने बताए।

उनले प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्दै प्रदेशको अनुहार पढ्ने र बदल्ने कुरालाई आफ्नो नेतृत्वको सरकारले कहीँ अवमूल्यन नगर्ने प्रस्ट पारे। उनले भने, ‘मेरो नेतृत्वको सरकारले जनताको जीवनमा सुधार, स्वास्थ्य उपचारको ग्यारेन्टी गर्छ र समयसीमाभित्र पूर्ण जवाफदेही ढङ्गले ती विषयलाई सम्बोधन गर्छ।’ पुराना सरकारका नारा एकातिर, काम अर्कोतिर भएको भन्दै उनले ती नारालाई समेत सार्थक तुल्याउने गरी काम गर्ने पनि बताए।

एमालेले अजय शाही र विमला वली खत्रीलाई पदमुक्त नगरेको विरोधमा लगातार सदन अवरोध गरिरहे पनि सभामुखले तीनपटक स्थगित गर्दै चौथोपटक बैठक आव्हान गरेका हुन्। लुम्बिनी सभामा नेपाली कांग्रेसका १९, माओवादीका १९, जसपाका ३, जनमोर्चाका १ सांसद छन्। एमाले ३८ जना छन्। एमाले प्रदेश संसदीय दलका उपनेता वैजनाथ चौधरीले बैठक औचित्यहीन भएकोले पार्टीले बहिष्कार गरेको बताए।

प्रकाशित मिति : ७ भदौ २०७८ सोमबार ००:००  ५ : १० बजे