दाङ ।
दाङको तुलसीपुरमा रहेकोे राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । डा. सिंहलाई दुर्व्यवहार गर्ने मुख्य व्यक्तिलाई आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।
कालोमोसो दल्ने मुख्य व्यक्तिलाई पक्राउ गरिसकेको र घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको एसपी काफ्लेले बताउनुभयो । पक्राउ परेकाको नाम ठेगाना पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
यसैबीच राप्ती प्रादेशिक अस्पतालको आकस्मिक स्वास्थ्य सेवाबाहेक अन्य सेवा आज चौथो दिन पनि ठप्प रहेको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टमाथि दुर्व्यवहार भएपछि दोषीहरूलाई कानुनी दायरामा नल्याउँदासम्म अस्पतालको सेवा ठप्प पार्ने आन्दोलनरत चिकित्सकको भनाइ छ ।
२२ अस्पतालको सेवा आज पनि ठप्प
दाङका २० बढी स्वास्थ्य संस्थाले संयुक्त विज्ञप्ति निकालेर आकस्मिकबाहेकका सेवालाई ठप्प पारेका छन् । जिल्लाका स्वास्थ्यकर्मी र चिकित्सकले डाक्टर विनोद सिंहलाई दुर्व्यवहार गर्नेलाई छिटो भन्दा छिटो कानुनअनुसारको कारबाही गर्न माग गर्दै स्वास्थ्यकर्मी र चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।
अस्पतालमा अहिले आकस्मिक, डायलासिस र सुत्केरी सेवाबाहेक अन्य सेवा ठप्प रहेको छ । स्वास्थ्य सेवा प्रभावित हुँदा दैनिक उपचारका लागि आउने बिरामीलाई समस्या भएको छ । अस्पतालको सेवा प्रभावित भएपछि उपचारका लागि आउने बिरामीहरू निजी मेडिकलमा उपचारका लागि जान बाध्य भएका छन् । चिकित्सकहरूले गएको शुक्रवारदेखि आन्दोलन सुरु गरेका हुन् ।







प्रतिक्रिया