७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मध्यरातमा मन्दिर भत्काउन वडाध्यक्षले पठाए डोजर



कपिलवस्तु ।

कपिलवस्तु नगरपालिका ७ धमौलीमा मध्य रातमा मन्दिरको संरचना भत्काइएको छ। ​धमौली गाउँभित्र रहेको राम जानकी मन्दिर परिसरमा रहेको पर्खाल र बरन्डाको भाग एक्स्काभेटर प्रयोग गरी भत्काइएको स्थानीय अजय सिंहले बताए।
मध्यरातमा ठूलो आवाज आएपछि गत वर्ष बनाइएको संरचना भत्काइएको थाहा पाएको सिंहले बताए। कपिलवस्तु नगरपालिका ७ का वडाध्यक्ष धर्मात्मामणी त्रिपाठीको आदेशमा रातको समयमा एक्स्काभेटर प्रयोग गरिएको स्थानीयको आरोप छ।
शुक्रबार दिउँसो मन्दिरको संरचना तोड्न केही श्रमिक आएपछि स्थानीयले अवरोध गरेका थिए। गत वर्ष नगरपालिकाले ५ लाखभन्दा बढी रकम खर्च गरेर मन्दिरको पर्खाल निर्माण गरेको थियो।
सो कामको डिजाइन चित्त नबुझेपछि परिवर्तन गराउने उद्देश्यले संरचना भत्काएको वडा कार्यालयका कार्यालय सहायक राम अचल यादवले बताए। भत्काइएको स्थलमा छानासहितको संरचना निर्माण गराउने योजना रहेको उनले बताए।

प्रकाशित मिति : १० आश्विन २०७८ आइतबार ००:००  ६ : १८ बजे