८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सल्यानमा माइत जान हिँडेकी महिला मृत फेला, तीन पक्राउ



दाङ ।

सल्यानमा माइती जान हिँडेकी एक महिला मृत फेला परेपछि प्रहरीले घटना अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको छ।
घरबाट माइती जान खोजेकी बागचौर नगरपालिका वडा नम्बर २ गैरीकी ५४ वर्षीया रामकली खत्री बाटोमै मृत फेला परेपछि प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ।
सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जेसिबी चालक, साहु र सहचालकलाई अनुसन्धानको लागि पक्राउ गरिएको बताए।

‘त्यो बाटोमा जेसिबीबाहेक अरू कुनै पनि यातायातका साधन उक्त समयमा सञ्चालनमा आएको देखिएन,’ डिएसपी थापाले भने,‘तर, मृतकको शरीरको घाउ खत हेर्दा गाडीले किचेकोजस्तो देखिएको छ।’ मृतकको कान, ढाड, हातमा गाडीले कुल्चेको जस्तो घाउ देखिएको डिएसपी थापाले बताए। डिएसपी थापाका अनुसार शनिबार साँझ साढे ५ बजेतिर घरदेखि माइती घर जान्छु भनी हिँडेकी खत्रीको शव आइतबार बेलुका साढे ७ बजेतिर बीच बाटोमै फेला परेको थियो।
खत्रीको घर र माइती घरको दूरी तीन किलोमिटर जति रहेको र बीच बाटोमा मृत फेला परेको डिएसपी थापाले बताए। ‘हामीले अनुसन्धानका लागि बाँकेबाट तालिम प्राप्त कुकुर पनि ल्याएका थियौं,’ डिएसपी थापाले भने,‘कुकुरले पनि घटना अनुसन्धानमा सघाएको छ।’ खत्री हिँडिरहेको बाटोमा उक्त दिन जेसिबीले सडक मर्मतको काम गरिरहेको हुँदा आशंका बढेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ आश्विन २०७८ सोमबार ००:००  १ : २८ बजे