८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बार्बाडोसले चुन्यो राष्ट्रपति, बेलायती महारानीलाई राष्ट्रप्रमुख नमान्ने



एजेन्सी ।

क्यारेबियन टापु मुलुक बार्बाडोसले पहिलो पटक राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति निर्वाचित गरेको छ।बिबिसीका अनुसार कुनैबेला बेलायतको उपनिवेश रहेको बार्बाडोसले अहिलेसम्म बेलायती महारानी एलिजावेथलाई राष्ट्रप्रमुख मान्दै आएको थियो। ७२ वर्षीया डाम सान्द्रा मासोन राष्ट्रपति निर्वाचित भएसँगै बार्बाडोस अब गणतान्त्रिक मुलुक बन्ने भएको छ।

बेलायतबाट स्वतन्त्र भएको ५५ औं वार्षिकोत्सवका अवसर पारेर आगामी नोभेम्बर ३० मा मासोनले राष्ट्रपतिको सपथ लिनेछन्।

बार्बाडोसले गत वर्ष नै आफूले गणतान्त्रिक प्रणाली अपनाउने योजना सार्वजनिक गरेको थियो।

२ लाख ८५ हजार जनसंख्या भएको बार्बाडोस क्यारेबियन आइल्यान्डहरूमा सबैभन्दा जनसंख्या भएको समृद्ध मुलुक हो। बेलायती महारानीलाई राष्ट्रप्रमुखबाट हटाउने बार्बाडोस पहिलो क्यारेबियन टापु राष्ट्र भने होइन। यसअघि गुयाना, ट्रिनिडाड, टोबागोले महारानीलाई राष्ट्रप्रमुखबाट हटाएका थिए।

अहिले पनि क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, पपुवा न्यु गिनी, जमैकालगायत मुलुकले बेलायती महारानीलाई आफ्नो देशको राष्ट्रप्रमुख मान्ने गरेका छन्।

प्रकाशित मिति : ५ कार्तिक २०७८ शुक्रबार ००:००  ८ : १५ बजे