७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

बिष्णु पौडेल : सहमति भएन भने हामी चुनावमै जान्छौँ



काठमाडौँ ।
एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले नेतृत्व चयनमा सहमति वा निर्वाचन दुवैको उत्तिकै सम्भावना रहेको बताएका छन्।
चितवनमा हुन लागेको १० औँ महाधिवेशनको कार्यक्रमस्थलमा उनले सल्लाह भइरहेको र नेतृत्व चयनमा सहमति भएन भने लोकतान्त्रिक विधिबाट निर्वाचन हुने बताएका छन्।
उनले एमालेको कार्यसमितिमा उपाध्यक्ष थप गर्ने कुरा सत्य नरहेको र आवश्यक पनि नरहेको प्रस्ट पारे।
उनले भने, ‘अहिले भइरहेको कार्यसमितिको १५ जना पदाधिकारी नै पुग्ने छ।’
यस्तै पौडेलले एमालेमा प्यानल नभएको र लड्न चाहनेले स्वतन्त्र ढंगले लड्ने पनि बताएका छन्।
‘नेकपा एमालेमा गुटको अस्तित्व छैन। कसैले पनि गुटको कल्पना नगरे हुन्छ,’ उनले भने, ‘जसरी विधान महाधिवेशनपछि हामी एकतावद्ध भएर निस्केका थियौँ, यसपल्ट पनि साथै निस्कन्छौँ।’
एमालेका उपमहासचिव पौडेल महासचिवको आकांक्षी रहेको बताइएको छ । तर उनले आफु कुन पदको लागि उम्मेदवारी दिन लागेको भने खुलाएनन्। पौडेलसँगै शंकर पोखरेल पनि महासचिव पदका आकांक्षी रहेका छन्।

प्रकाशित मिति : १० मंसिर २०७८ शुक्रबार ००:००  १२ : ४३ बजे