प्रेमनारायण आचार्य, अर्घाखाँची ।
अर्घाखाँचीमा व्यवसायिक रुपमा गाई तथा भैँसीपालन बढेसँगै दूधको उत्पादन बढेको छ । अर्घाखाँचीबाट दैनिक २ हजार लिटर दूध बाहिरी जिल्लामा निर्यात हुने गरेको जिल्ला पशु सेवा कार्यालयको तथ्यांक छ । केही वर्ष अघिसम्म अर्घाखाँचीमा बाहिरी जिल्लाबाट दुध आयात गरिन्थ्यो ।
जिल्लामा एक वर्षमा २ करोड ९३ लाख ७० हजार लिटर दूध उत्पादन भएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डाक्टर लोकनाथ पौडेलले बताउनुभयो । लिटरको ६० रुपैयाँका दरले हिसाब गर्दा यो दूध १ अर्ब ७६ लाख रुपैयाँ बराबरको हुन्छ ।
सयभन्दा धेरै दूग्ध उत्पादक समूह र ५० को हाराहारीमा पशु फर्म दर्ता भएको कार्यालयले जनाएको छ । व्यवसायिक रुपमा गाईभैँसी पाल्नेमा धेरैजसो युवा छन् । गाईभैँसी पालनबाट राम्रो आम्दानी हुन थालेपछि धेरै युवा विदेश जान छोडेर पशुपालनमा लागेका छन् ।
सन्धिखर्क, अर्घा, ढिकुरा, किमडाँडा, मेरङ् अर्घातोष, पटौटी पणेना पोखराथोक, ढाडमैदान, डिभर्ना चिदिका लगायतका क्षेत्रमा दुध संकलन गरी विक्री हुन्छ । सन्धिखर्कबाट एक दिन बिराएर १५ सय लिटर दूध बुटवल दूग्ध सहकारी संस्थामा पठाउने गरिएको अर्घाखाँची दूग्ध सहकारी सस्थाका अध्यक्ष चन्द्रप्रसाद बन्जाडेले बताउनुभयो ।
मेरेङ् अर्घातोष, चिदीका र बलकोटबाट दैनिक चार सय लिटर गुल्मीको तम्घासमा विक्री हुने गरेको छ । पटौटीमा दैनिक ११ सय लिटर दूध तथा त्यसबाट बनेका छुर्पी पाल्पा, बुटवल, नारायणगढ र बाग्लुङमा विक्री हुने गरेको छ ।
पशु सेवा कार्यालयले किसानलाई अनुदान र प्रोत्साहनका साथै दूधको बजारीकरणमा पनि सहयोग गर्ने गरेको छ ।
२७ चैत्र २०७४ मंगलबार ००:००
0
Shares






प्रतिक्रिया