८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

भारतमा रेलको ठक्करबाट एक नेपाली युवकको ज्यान गयो



झापा ।

झापाको मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको गए राति सीमावर्ती भारतीय नाका पानीट्याङ्कीमा रेलको ठक्करबाट ज्यान गएको छ ।

रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडी जाँदै गरेको रेलले ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै ज्यान गएको भारतीय प्रहरीको भनाइलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।

घटनालगत्तै पानीट्याङ्कीमा रहेको भारतीय प्रहरी चौकीले काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा घटनाबारे जानकारी गराएको थियो । मृतकको शव त्यही चौकीमा राखिएको छ । परीक्षणपश्चात शव आज नेपाल ल्याइने प्रहरीले जनाएको छ ।

पूर्वी नेपालको मेचीनगर, भद्रपुर, बिर्तामोडलगायत क्षेत्रबाट किनमेल र उपचारका लागि दिनहुँ सयौँको सङ्ख्यामा नेपाली सीमावर्ती भारतीय बजार पानीट्याङ्की, नक्सलबाडी, गलगलिया र सिलीगुडी ओहोरदोहोर गर्छन् । पानीट्याङ्कीमा रहेको भारतीय रेल्वेको लिकमा दुर्घटना हुँदा बर्सेनि नेपालीको ज्यान जाने गरेको छ ।

प्रकाशित मिति : ३ असार २०७९ शुक्रबार ००:००  १२ : २६ बजे