६ असार २०८३, शनिबार | Sun Jun 21 2026

बाँकेको नरैनापुर पालिका सुक्खा क्षेत्र घोषणा



नेपालगञ्ज ।

लामो समयदेखि पर्याप्त वर्षा नहुँदा पानी अभावमा धान रोपाइँ, अन्य खेतीबारी हुन नसकेपछि बाँकेको नरैनापुर गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको छ। पानी अभावमा खडेरी भएको बताउँदै गाउँपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा गरेको हो।

सिँचाइ व्यवस्था नहुँदा अधिकांश किसान बर्खाको भरमा खेती गर्न बाध्य भएको पालिका अध्यक्ष इस्तियाक अहमद साहले बताए। यस पटक लामो समयदेखि वर्षा नहुँदा धान रोपाइँ गर्न नसकिएपछि पालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको उनको भनाइ छ।

गर्मीसँगै उक्त क्षेत्रमा पानी नपरेपछि अधिकांश कृषियोग्य जमिन बाँझै रहेका छन्। पानीको स्रोत सुक्न थालेपछि नरैनापुरमा पानी अभाव भएको नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए।

सयौं किसानले पालिकामा आएर गुनासो गरिरहेको भन्दै उनले यस पटक रोपाइँ हुनै नसकेकाले के खाने भन्ने चिन्ताले सताएको सुनाए। जिल्लाकै सबैभन्दा दुर्गम र पिछडिएको मानिने नरैनापुरका अधिकांश किसानले अकासे पानीको भरमा खेती गर्दै आएका छन्।

प्रकाशित मिति : २७ श्रावण २०७९ शुक्रबार ००:००  ३ : ४३ बजे