८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

जिल्ला अध्यक्षसहित एकीकृत समाजवादी गुल्मीका नेताहरु एमालेमै फर्किए



गुल्मी ।

नेकपा एकीकृत समाजवादी गुल्मीका अध्यक्षसहित जिल्लाका अन्य नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन्।

सोमवार एमाले गुल्मीले आयोजना गरेको कार्यक्रममा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य नरेश भण्डारी, जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य गणेश खनालसहित अधिकांश जिल्लास्तरका नेता कार्यकर्ताहरू एमालेमा फर्किएका हुन्।

एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट लगायतले केन्द्रीय सदस्यद्वय भण्डारी र खनालसहितको टोलीलाई एमालेमा स्वागत गरेको एमाले प्रदेश सदस्य हीरा एसीले जानकारी दिए।

त्यस्तै, एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य हिमाल थापा, युवा संघ केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सचिवालय सदस्य मदन विष्ट, जिल्ला सदस्य तथा मुसीकोट अध्यक्ष मदनदीउ घिमिरे, जिल्ला सदस्य हरि कुँवर, विष्णुप्रसाद भण्डारी, विद्यार्थीका जिल्ला अध्यक्ष निलकण्ठ पाण्डे, पार्टीका छत्रकोट अध्यक्ष यमबहादुर खत्रीसहितको टोली एमालेमै फर्किएका छन्।

एमाले प्रवेश गर्दै जिल्ला अध्यक्ष भण्डारीले कम्युनिस्ट आन्दोलनको नेतृत्व एमालेबाहेक अरुबाट सम्भव नभएकाले पुनः एमालेमै फर्किएको बताए। नेपाली काङ्ग्रेसलाई शक्तिमा लैजाने एकीकृत समाजवादीको नेतृत्वले गरेको गम्भीर गल्तीलाई बोक्न नसकेका कारण पुनः एमालेमा आएको भण्डारीको भनाइ थियो।

गुल्मीको क्षेत्र नम्बर २ मा गठबन्धनबाट एकीकृत समाजवादी सचिव रामकुमारी झाँक्री र एमालेबाट गोकर्ण विष्टको चुनावी चर्चा चलिरहेका बेला एकीकृत समाजवादीका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन्।

प्रकाशित मिति : २० भदौ २०७९ सोमबार ००:००  २ : ४५ बजे