८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

काठमाण्डौबाट दुई दिनमा झण्डै १५ हजारले लिए अग्रिम टिकट



काठमाण्डौ ।

दशैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि काठमाण्डौको नयाँ बसपार्कबाट दुई दिनमा झण्डै १५ हजार यात्रुले बसको अग्रिम टिकट लिएका छन् । अस्ति असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकोमा शनिवार र आइतवार गरी नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम टिकट लिएका हुन् ।

यातायात व्यवस्था विभाग, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच गएको भदौ २२ गतेको निर्णयअनुसार असोज १ गतेदेखि लामो दूरीका गाडीका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शनिवार सात हजार र आइतवार आठ हजार यात्रुले अग्रिम टिकट लिएका हुन् । सरकारले पश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्युठान, रुकुम, रोल्पालगायतका ठाउँ तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर धरान विराटनगरलगायतका ठाउँमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको हो ।

पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बाग्लुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायतका छोटो दूरीमा जानेको पनि अग्रिम टिकट बुकिङ चाँडो खुला गरिने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका काठमाण्डौ प्रमुख रमेश खत्रीले जानकारी दिनुभयो ।

बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म अग्रिम टिकट लिन सकिन्छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले दशैँ मान्न घर जाने यात्रुलाई ध्यानमा राखेर सकेसम्म सहज व्यवस्था मिलाएको बताउनुभयो ।

दशैँमा झण्डै २० लाख यात्रुले काठमाण्डौ छाड्ने अनुमान छ । उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर विभिन्न १४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गर्ने तयारी छ। महाशाखाले विभागको सहकार्यमा नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष राखिनेछ ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार यात्रु सहायता कक्षबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र अरु आवश्यक समन्वय गरिनेछ।

प्रकाशित मिति : ३ आश्विन २०७९ सोमबार ००:००  १२ : ४७ बजे