१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

पुरुष उपसभामुख हुँदा पाउने सुविधा मैले पाइनँ : उपसभामुख राना



काठमाडौँ ।
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छन् ।भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले पुरुष उपसभामुख हुँदा राज्यबाट पाउने सुविधा अहिले आफूले नपाएको बताएकी हुन् ।

‘पहिला पुरुष उपसभामुख हुँदा खेरी चाहिँ आर्मी दिन्थ्यो रे । उहाँहरुलाई चाहिँ मन्त्रीसरह सुविधा हुन्थ्यो रे । उपसभामुखलाई घर दिने रे भनिएको छ, दिइएको छैन । ३६ हजार निवास भाडा दिइएको छ । आफू ४४ हजार तिरेर बस्नु परेको छ,’ उनको भनाइ थियो ।

राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद् र अन्याय भएको उनले आरोप लगाइन् । ‘सांसद हुँदा त मैले त्यति वास्ता गरिनँ । तर उपसभामुख भएको मेरो अहिले एक महिना भयो । मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ । मेरो सुविधा पनि खोज्दै जाँदा थुप्रै सुविधाहरु रहेछ । पुरुषले महिलालाई, ठूलो पार्टीले सानो पार्टीलाई गरिने व्यवहार भ्रष्टाचार होइन र ? कस्तो लाग्छ ?,’ उनले भनिन्, ‘यहाँ जसको पहुँच छ, उसलाई तुरुन्त सबैथोक हुने । म अन्याय र विभेद सहन नसक्ने मान्छे । म सानो भूइँमान्छे हो । म सांसदमात्रै हुँदा म नर्मल ठाउँबाट जान्थे । भीआईपीको सुविधा प्रयोग गर्दिन भन्थे ।’

उपसभामुख रानाले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुन सक्ने बताइन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९ शुक्रबार ००:००  ४ : ५० बजे