काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले आफैँ योजना बनाएर देशको विकास गर्ने नेपालको अधिकार बचाउन नसकेको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरम बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाल जस्तो स्वतन्त्र मुलुकले अरु कुनैपनि देशको दुतावासबाट सोझै रकम ल्याएर परियोजना बनाउने कुरा राष्ट्र हित विपरीत भएको बताएका हुन्।
‘यो हाम्रो देशको स्वतन्त्रता र सार्वभौम सत्ता अनकुल हुँदैन । यो राष्ट्रिय हित विपरित हुन्छ । यो कुरा ३ करोड दिने कुरा गरियो, त्यस बेलादेखि नै गलत भयो,’ उनले भने।
उनले छिमेकी देशले दिने अनुदान आफूहरु सहर्ष स्वीकार गर्न तयार रहेको बताए।
‘हामीलाई अनुदान दिने हो भने कति अर्ब, कति खर्ब दिने हो, त्यो हामी लिन्छौँ र मुरीमुरी धन्यवाद दिन्छौँ । नेपाल सरकारले योजना बनाएर यो देशको विकास गर्ने हाम्रो अधिकारलाई हामी सुरक्षित राख्छौं,’ उनले भने।
तर वर्तमान यो अधिकारलाई गठबन्धन सरकारले सुरक्षित राख्न नसकेको उनले बताए । ‘ यो राष्ट्र हित विपरितको भयो,’ उनले भने।
खनालले राष्ट्रिय हितलाई सर्वोपरी राखेर सरकारले अघि बढ्न जरुरी रहेको बताए। -(न्युज एजेन्सी नेपाल)







प्रतिक्रिया