७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

भैरहवा भन्सारको निरीक्षणपछि अर्थमन्त्रीले भने : राजस्वको लक्ष्य भेटाउने गरी काम गर्नूस्



काठमाडौँ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन्।

बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले भने, ‘राजस्वको लक्ष्य भेटाउन कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्नुहोस्।’

भैरहवा भन्सारलाई सशक्त नेतृत्व दिन, अन्य निकायसँग राम्रो समन्वय गर्ने, सुरक्षा निकायसँग निरन्तर समन्वय राखेर चोरी निकासी रोक्ने, छिटो भन्सारलाई सिस्टममा राख्न र जिम्मेवारीलाई उच्च सर्तकताका साथ निरन्तर खबरदारी गर्ने कर्मचारीलाई निर्देशन दिए।

‘कार्यरत कर्मचारीहरु एक वर्ष नभइ सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन, क्षमतामा प्रश्न उठ्यो भने जुनसुकै बेला पनि सरुवा हुनसक्छ’ मन्त्री डा. महतले भने, ‘यद्यपि कर्मचारीलाई मैले अविश्वास गर्न खोजेको होइन।’

अहिले सहज भएको अवस्थाभन्दा कोभिडमा असहज भएका बेलामा भन्सार बढी उठेको विषयलाई व्याख्या गर्न नसकिने भन्दै डा. महतले भने, ‘गाडी आयात कम भयो भन्ने कुरा आएको छ, तर त्यो मात्र कारण हुन सक्दैन। त्यो कुरामा कर्मचारीले गम्भीर भएर ध्यान दिनुहोला।’

मन्त्री महतले जफत गरेको सामानको लिलामीका लागि पनि समयसीमा पहिले घोषणा गर्न, भन्सार र आन्तरिक राजश्वबीच समन्वय हुन जरुरी देखिएको बताए।

साथै, जाँच पासका लागि प्राविधिक रुपमा के–के चाहिन्छ, के कुराले समस्या भएको छ, त्यसको रिर्पोट गर्न आग्रह गर्दै मन्त्री मन्त्री महतले समस्याको सम्बोधन तुरुन्त गर्ने प्रतिवद्धता जनाए।

प्रकाशित मिति : २४ माघ २०८० बुधबार ००:००  ५ : ५९ बजे