१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्छः प्रम ओली



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् ।

अहिलेको संविधानको सबैलाई अधिकार सम्पन्न गराएको भन्दै ओलीले सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको बताएका छन् ।

आज संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ओलीले लेखेका छन्, ‘आज संविधान दिवस, हाम्रो राष्ट्रिय दिवस । दशकौं लामो संघर्ष र सयौंको बलिदानको फलस्वरूप जनता आफैंले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले पहिलो पटक निर्माण गरेको संविधान । यसले सबैलाई अधिकार सम्पन्न बनाएको छ ।’

उनी थप लेख्छन्, ‘सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको छ । यसको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्छ ।’

जनताले लामो समयसम्म भोगेको निरंकुशता आजको पुस्ताले पनि बिर्सन नहुने भन्दै ओलीले यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा समाजलाई निरंकुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र मष्तिस्कमा आउने उल्लेख गरेका छन् । त्यसैले ओली भन्छन्, ‘यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नु पर्छ । सबै दिदीबहिनी, दाजुभाइमा संविधान दिवसको शुभकामना ’

प्रकाशित मिति : ३ आश्विन २०८१ बिहिबार ००:००  ९ : ०५ बजे