८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

आर्थिक खबर साप्ताहिकको प्रकाशन सुरु



कपिलवस्तु ।
एवान मिडिया सेन्टर कपिलवस्तुबाट प्रकाशन हुँदै आएको प्रदेश पाँचको पहिलो आर्थिक खबर पत्रिका आर्थिक खबर पाक्षिक रुपमा प्रकाशन हुँदै आएकोमा अब साप्ताहिक रुपमा प्रकाशन हुने जानकारी गराउन पाउँदा असाध्यै खुसी लागेको छ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ मा स्थायी कार्यालय र वाणगंगाा ४ मा कर्पोरेट कार्यालय रहेको यस पत्रिकाले आर्थिक बिटमा वि.सं २०७५ साल वैशाख १५ गतेबाट पाक्षिक प्रकाशन सुरु गरेको थियो । पत्रिकाले हालसम्म निरन्तर १० अंक प्रकाशन गरिसकेको छ । हरेक महिनाको १ र १५ गते प्रकाशन हुने पत्रिका अब देखि हरेक हप्ताको मंगलबार आमपाठक बर्गको हातहातमा आई पुग्नेछ । ्पत्रिका प्रकाशनको छोटो समयमा नै आम पाठक वर्गहरु, उद्योगी, व्यवसायीको अमूल्य माया ममता र सहयोग प्राप्त गर्न सफल आर्थिक खबरले सधैँभरी खबरको बिषयवस्तु, गहिराई, विश्वसनियता र तथ्यपरकतामा विश्वास राख्छ र त्यही अनुसार आफ्ना अंकहरु प्रकाशन गर्दछ । यही विश्वास र विश्वसनीयताका कारण आज प्रदेशभरी नै आर्थिक खबर पत्रिका खोजीखोजी अध्ययन गर्ने पाठकहरुको संख्या दिनानुदिन बढेको छ ।
हामी राज्यको विकास तब मात्र भएको मान्छौँ जब आम नागरिकहरु आर्थिक रुपमा सबल र सक्षम हुन सक्छन् । जब नागरिकहरुको आय आर्जन (प्रतिव्यक्ति आय) मा वृद्धि हुन्छ, निर्वाहमुखी खेती किसानी गरेका किसानले कृषिलाई व्यवसायिकरण गरेर अगाडी बढ्छन् तब देशले द्रुत गतिमा विकासको फड्को मार्छ । अर्को कुरा देशलाई परनिर्भरताबाट जोगाउन नागरिकहरुलाई आर्थिक रुपमा सबल र स्वतन्त्र र स्वउद्यमी बनाउन जरुरी छ । आर्थिक खबरले अब साप्ताहिक प्रकाशनको अभ्यासमा यो कुरालाई जोडतोडका साथ उठाउने छ । हामी नीजि क्षेत्रलाई प्रोत्साहन गछौँ । किनभने कुनै पनि मुलुकको विकास नीजि क्षेत्रको विकास बिना सम्भव छैन । चाहे अमेरिकाको कुरा गरौँ, चाहे युरोप चाहे एसिया । सबै स्थानको विकास नीजि क्षेत्रको विकासबाट मात्र सम्भव भएको छ । हामी त्यस्ता नीजि क्षेत्रको हक अधिकार र उनीहरुको बजारीकरणलाई टेवा पुग्ने गरी खबर प्रकाशन गर्ने छौँ । त्यसै गरी आर्थिक खबरले अबका साप्ताहिक अंकमा जहिले पनि कृषि, कृषक र कृषिजन्य कुरालाई उच्च प्राथमिकताका प्रकाशन गर्ने छ । चाहे हलोजुवा, कुटो कोदाली गर्ने किसान होऊन्, चाहे ठुलोठुलो उद्योगधन्दा संचालन गर्ने उद्योगी व्यावसायी होऊन् । दुवैलाई समेटेर आर्थिक समृद्धिको अभियानमा जोड्नु आर्थिक खबरको महत्वपूर्ण उद्देश्य हो । हामी श्रमलाई विश्वास गछौँ र सबैलाई श्रम गर्न आह्वान गछौँ ।
आर्थिक खबर पत्रिकाले साप्ताहिक प्रकाशन सुरु गर्दै गर्दा हामी यो पनि भन्छौँ कि हामीले कहिल्यै पनि राष्ट्रियता र देशको स्वाधिनता संग सम्झौता गर्दैनौँ । खोजी पत्रकारिताको अभ्यासलाई गोजी पत्रकारितामा बदलेर खबर सूचना प्रकाशन, प्रसारण गर्ने परिपाटी देशभर व्याप्त भएको हुँदा हामीले अबका अंकमा यी र यस्ता कुराबाट टाढा रहेर विना पूर्वग्राही ढंगले काम गर्ने छौँ । देश, प्रदेश र परदेशका इलम र इलमीका कथा र व्यथाले हाम्रा पृष्ठहरु भर्ने छौ्रँ । मुख्य गरी प्रदेश ५ का जिल्लाहरुलाई समेटेर आगामी साप्ताहिक अंकमा कुखुरा, गाई, भैँसी, माछापालक किसान तथा आलु, बोडी, टमाटर, लौका, फर्सी, गोलभेँडा आदि कृषिजन्य वस्तु उत्पादन गरी आफू पनि बाँचेका र राष्ट्रलाई पनि बचाउन सफल धर्ती पुत्रका संघर्ष र सफलतालाई विशेष प्राथमिकताको साथ प्रकाशन गर्ने छौँ । त्यसैगरी मुलुकलाई आर्थिक सवृद्धिको दिशामा अगाडी बढाउन अहोरात्र खटेका लघु, मझौला उद्योग धन्दा, व्यापार व्यावसाय, बिभिन्न वित्तीय संस्था संस्था तथा सहकारीहरुका आवाजहरु बुलन्द गर्ने दृढता व्यक्त गर्दछौँ ।
यति मात्र होइन हामीले राष्ट्रको समृद्धिमा अवरोध सिर्जना गर्ने, विकास निर्माणका काममा ढिलासुस्ती गर्ने, आर्थिक अनियमितता र भ्रष्टाचार गर्नेहरु विरुद्ध निरन्तर खबरदारी र भण्डाफोर पनि गर्दै आइरहेका छौँ । र त्यो क्रम अब पनि निरन्तर जारी रहने छ । किनभने खबरदारीता पत्रकारिताताको धर्म हो । त्यति मात्र नभएर सरकार र त्यस मातहतका निकाय संग पनि हातेमालो गर्दै सहकार्य गर्दै अगाडी जाने छौँ । हर संचारमाध्यमले यही मूल्यको डोरीलाई समातेर अगाडी बढ्नु पर्दछ भन्ने हाम्रो ठम्याई हो ।
मुलुक संघीयता लागुको अभ्यासमा रहेसंगै थुप्रै चुनौति पनि रहेका छन् । सरकारले घोषणा गरेको समृद्ध नेपाल सुखी नेपाली नारालाई सफलीभूत गराउन ती र त्यस्ता चुनौतीसंग डटेर लड्नु पर्दछ । सबै नागरिकले कर तिर्ने बानी बसाल्नु पर्द छ । यदि मुलुकलाई अबको ५ बर्षमा साँच्चै विकसित र राम्रो बनाउने हो सानातिना कुरामा दुई तिहाइको सरकार अल्मलिनु हुँदैन । सरकारले नीजि क्षेत्रलाई जतिसक्यो उत्पादनशिल क्षेत्रमा लगाउन आवश्यक लगानीमैत्री र शान्तिपूर्ण वातावरण निर्माण गर्नु पर्दछ ।
अन्त्यमा हामी जहिले पनि यहाँसंग सहकार्य गर्न आतुर छौँ । यहाँको अमुल्य साथ, सहयोग र समर्थन पत्रिकाले जसरी विगतका दिनहरुमा पाएको थियो त्यसैगरी भावी दिनमा पनि पाउने छ ।

प्रकाशित मिति : १८ आश्विन २०७५ बिहिबार ००:००  ७ : ३० बजे