७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

कोरियाका बुद्ध मार्गीले गरे कपिलवस्तुमा सामूहिक प्रार्थना



कपिलवस्तु ।

दक्षिण कोरियाका चार सयभन्दा बढी बुद्धमार्गीहरूले प्राचीन कपिलवस्तुस्थित बुद्धका दुई प्रमुख स्थल तिलौराकोट र निग्रोधराममा पुगेर विश्व शान्तिका लागि सामूहिक प्रार्थना गरेका छन्।

कोरियाको जेबीएस फाउन्डेशनअन्तर्गतका विभिन्न बिहारबाट आएका ती बुद्धमार्गीहरू लुम्बिनी हुँदै १३ वटा बसमा चढेर कपिलवस्तु पुगेका थिए।

तिलौराकोटमा पश्चिमी, पूर्वी र मुख्यद्वारको अवलोकन गरेपछि उनीहरूले पूर्वी द्वारमा सामूहिक प्रार्थना गरेका थिए। निग्रोधराममा पनि उनीहरूले सामूहिक प्रार्थना गर्दै विश्व शान्तिको कामना गरे।

‘यो पवित्र भूमिमा आउने चाहना सबै बुद्धमार्गीको हुन्छ,’ ती सहभागीहरूले भने। बुद्धको क्रिडास्थल र दरबारमा पुगेर प्रार्थना गर्न पाउँदा उनीहरू निकै खुसी देखिन्थे। उनीहरूले यो यात्राले मनलाई अत्यन्त शान्ति र आनन्द दिएको बताए।

तिलौराकोट बुद्धका पिताको दरबार रहेको ऐतिहासिक स्थल हो, जहाँ बुद्धले आफ्नो बाल्यकाल बिताएका थिए। कुदानलाई बुद्धले बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक छोरा र श्रीमतीलाई देशना दिएको स्थलका रूपमा चिनिन्छ। यी ऐतिहासिक स्थलमा सामूहिक प्रार्थना गरेर विश्व शान्तिका लागि कामना गर्नु विशेष महत्त्वपूर्ण मानिन्छ।
लुम्बिनी विकास कोष, तिलौराकोट सम्पर्क कार्यालयका अनुसार चालु सिजनमा एकैपटक यति ठूलो संख्यामा पर्यटक आएको यो पहिलो पटक हो।

प्रकाशित मिति : ८ माघ २०८१ मंगलबार ००:००  ८ : २५ बजे