७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सुरु भयो नवौं चन्द्रौटा महोत्सव



कपिलवस्तु ।

नवौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०८१ बुधबारदेखि सुरु भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले महोत्सवको उद्घाटन गर्दै जनताको हितका लागि सरकारले अध्यादेश ल्याएको बताए।

मन्त्री अधिकारीले समस्यामा परेका नागरिकहरूको विषयलाई समाधान गर्न अध्यादेश जारी गरिएको स्पष्ट पारे। केहीले गलत भ्रम फैलाउँदै सरकारले बन मास्ने कानुन ल्याएको भनी आलोचना गरे पनि सरकारले लामो समयदेखि बसोबास गर्दै आएका नागरिकलाई लालपुर्जा दिने तयारी गरिरहेको जानकारी गराए।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुन कुमार केसी, शिवराज नगर प्रमुख अजय थापा, व्यापार संघका प्रदेश अध्यक्ष टक पोखरेल लगायतले महोत्सवको सफलताको शुभकामना दिए। आयोजक समितिका संयोजक महादेव पोखरेलले महोत्सवले स्थानीय उत्पादन प्रवर्द्धन गर्दै आर्थिक गतिविधि चलायमान बनाउने र रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको बताए।

“कृषि, पर्यटन, उद्योग र व्यापारः स्थानीय उत्पादनको प्रयोग, रोजगारको मुख्य आधार” नाराका साथ व्यापार संघ कपिलवस्तुले आयोजना गरेको यो महोत्सव माघ २० गतेसम्म चल्नेछ।

प्रकाशित मिति : ९ माघ २०८१ बुधबार ००:००  ९ : २४ बजे