१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कपिलवस्तु अदालतका २ कर्मचारी भ्रष्टाचारी ठहर



कपिलवस्तु ।

सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे विशेष अदालतबाट दोषी ठहर भएका छन् ।

विशेष अदालतले २० हजार रुपैंया घुस सहित जिल्ला अदालत कपिलवस्तुका स्रेस्तेदार सन्तोषकुमार मिश्रलाई दुई महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत कपिलवस्तुकै कम्प्युटर अपरेटर विकास पाण्डेयलाई एक महिनाको कैद सजाय भएको छ ।

अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनीहरुले घुस मागेको र लिएको ठहर गरेको हो । उनीहरुले लिएको २० हजार रुपैंया बरामद भएको, घुस मागेको भिडियो र अडियो समेत मुद्दाका साथमा पेश भएको भन्दै विशेष अदालतले उनीहरुलाई १०र१० हजार रुपैंयाका दरले जरिवाना गर्ने आदेश गरेको हो ।

मिश्रले फैसला कार्यान्वयनका लागि आएका सेवाग्राहीको बण्डा मुचुल्का बदर गराउन घुस मागेका थिए । त्यसक्रममा अख्तियारको टोलीले स्रेस्तेदार मिश्र र कम्प्युटर अपरेटर पाण्डेयलाई घुस सहित पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २९ माघ २०८१ मंगलबार ००:००  ९ : २७ बजे