७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै



जुम्ला ।

नेपाली ‘खस’ भाषाको प्रादुर्भाव भएको जुम्लाको सिञ्जा सभ्यतालाई विश्वसम्पदाको सूचीमा राख्नका लागि अध्ययन टोली यहाँ पुगेको छ।

केन्द्रीय पुरातत्त्व विभागको टोली यहाँ पुगेर विश्वसम्पदा सूचीमा राख्न आवश्यक आधारबारे अध्ययन तथा स्थानीयसँग छलफल गरिरहेको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

सिञ्जा सभ्यताको ऐतिहास, वर्तमान र भविष्यका सन्दर्भमा पुरातत्व विभागको टोलीले यहाँका स्थानीयसँग छलफल गरिरहेको छ। ‘विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग नेतृत्वको टोली सिञ्जा उपत्यकामा पुगेर अध्ययन थालेको हो’, उनले भने। टोलीले यो क्षेत्रको हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकालगायत स्थानमा रहेका सभ्यताका बारेमा छलफल थालेको अध्यक्ष धितालको भनाइ छ।

‘सिञ्जा गाउँपालिकामा पुरातत्त्व विभागको टोली पहिलो पटक जुम्ला आइपुगेको हो’, प्रधानाङ्गले भने, ‘सिञ्जालाई विश्वसम्पदा सूचीमा राख्ने विषयमा यहाँका स्थानीय, स्थानीय सरकार र सरोकार भएका निकायका प्रतिनिधिसँग पहिलो चरणमा छलफल भएको छ।’

सिञ्जालाई विश्वसम्पदा सूची राख्न सबैको सुझाव आएको बताउँदै उनले आधुनिक विकासका नाममा प्राचीन सभ्यता मास्ने कार्य रोक्नुपर्नेमा जोड दिए। विभागले मुलुकका १५ वटा नयाँ क्षेत्र विश्वसम्पदा सूचीमा राख्न तयारी थालिरहेको जानकारी दिए।

कर्णाली प्रदेशका सिञ्जा सभ्यता र दैलेखको दुल्लुका २२ देवल पनि रहेका छन्। विभागले सिञ्जालाई विश्वसम्पदा सूचीमा समावेश गर्ने काम अघि बढाएको विभागका महानिर्देशक प्रधानांगको भनाइ छ। गाउँपालिकाका उपाध्यक्ष सीतली रोकायाले सिञ्जालाई विश्वसम्पदा सूचीमा राख्न विभागसँग पहल थालिएको बताइन्।

प्रकाशित मिति : ४ चैत्र २०८१ मंगलबार ००:००  ७ : २२ बजे