७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

तुलसीपुर उच्चले रवि लामिछानेलाई पुर्पक्षका लागि पठायो थुनामा



काठमाडौँ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्चले थुनामा पठाउने आदेश गरेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए। लामिछाने गत माघ १३ गते जिल्ला अदालत रुपन्देहीबाट १ करोड रुपैयाँ धरौटीमा छुटेका थिए।

पुनरावेदनमा उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो।

छविलाल जोशीको हकमा भने जिल्ला अदालतको आदेश सदर गरेको सूचना अधिकारी कुँवरले बताए। छविलाललाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

उता रविविरुद्ध पर्साको सानोपाइला सहकारी ठगी प्रकरणको मुद्दा भने अहिलेसम्म अदालत पुगेको छैन। पर्सामा लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छैन। अनुसन्धान भइरहेको भन्दै प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउन आलटाल गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले भने जतिसक्दो चाँडो अनुसन्धान टुंग्याएर मुद्दा दर्ता गर्ने प्रक्रियामा रहेको बताए। सरकारी वकिलको निर्देशनबमोजिम डाटाहरु कलेक्सनको काम भैरहेको उनले बताए।

यो मुद्दामा लामिछानेसँगै अन्य प्रतिवादीहरु पनि रहेकाले अनुसन्धानका लागि समय लागेको एसपी मिश्रले बताए।

प्रकाशित मिति : २१ चैत्र २०८१ शुक्रबार ००:००  ९ : १८ बजे