१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मुम्बईलाई हराउँदै गुजरात शीर्ष स्थानमा



काठमाडौं ।
इन्डियन प्रिमियर लिग आईपीएलमा मुम्बई इन्डियन्सविरुद्ध डकवर्थ लेविस डीएल पद्धतिअनुसार तीन विकेटको जित निकाल्दै गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ।

मंगलबार राति वर्षाले प्रभावित बनेको खेलमा मुम्बईले टस हारेर पहिले ब्याटिङ गर्दै १५५ रनको योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा आएको गुजरातले १८ मा ६ विकेट गुमाएर १३२ रन बनाउँदा पानी परेपछि खेल केहीबेर प्रभावित बनेको थियो।

वर्षाका कारण खेल केहीबेर रोकिएपछि गुजरातले १९ ओभरमा १४७ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो। जसलाई गुजरातले १९ ओभरमा सात विकेट गुमाएर पूरा गरेको थियो।

गुजरातको जितमा कप्तान शुभमन गिलले ४३ रन बनाए। उनले ४६ बलमा तीन चौका र एक छक्का प्रहार गरे। जस बटलरले २७ बलमा तीन चौका र एक छक्कासहित ३० रन थपे। शेरफन रुथरफोर्डले २८ रन जोडे।

मुम्बईका ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र अश्वानी कुमारले समान दुई विकेट लिए। दीपक चहरले एक विकेट लिए।

त्यसअघि, मुम्बईका विल ज्याक्सले सर्वाधिक ५३ रन बनाएका थिए। सूर्यकुमार यादवले ३५ र कोर्बिन बोस्कले २७ रन थपे। यसबाहेक, अन्य ब्याटर दोहोरो अंक जोड्न सकेनन्।

मुम्बईविरुद्ध साई किशोरले दुई विकेट लिए। मोहम्मद सिराज, अर्शद खान, प्रशिद्ध कृष्णा, राशिद खान र गेराल्ड कोएट्जेले समान एक विकेट लिए।

जितसँगै ११ खेलबाट १६ अंक जोडेको गुजरात तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। १२ खेलबाट १४ अंक जोडेको मुम्बई तालिकाको चौथो स्थानमा छ।

प्रकाशित मिति : २४ बैशाख २०८२ बुधबार ००:००  ७ : २३ बजे